• १० मंसिर २०८१, सोमबार

चालक अनुमतिपत्र परीक्षामा सुधार

blog

सवारीचालक अनुमतिपत्र प्राप्त गर्नु धेरैका लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको थियो। न त आवेदन दिन सजिलो न त समयमै परीक्षा दिन पाइने। वर्षौंदेखि यस्तो अवस्थामा सुधार गर्नु जरुरी थियो। त्यसो त परिस्थितिअनुरूप विभिन्न ऐन, नियम, कानुनमा परिमार्जन, संशोधन हुनु आवश्यक मात्र होइन महत्वपूर्णसमेत मानिन्छ। मुलुक सङ्घीय प्रणालीमा गइसकेपछि नेपालका विभिन्न प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि आआफ्नै तरिकाले मापदण्ड निर्धारण गर्न थालिएको छ। अधिकांश मापदण्ड सजिला छैनन्, निकै कठिन छन्। फलस्वरूप सवारीसाधन अनुमतिपत्र अर्थात् लाइसेन्स प्राप्ति सोचेअनुरूप सहज नहुँदा धेरैका लागि चिन्ताकै विषय भएको छ। त्यसैले हुन सक्छ, अनियमित तवरले पनि लाइसेन्स प्राप्त गर्ने, गराउने धन्दा निकै फस्टाएको आमसञ्चार माध्यममा समाचार बन्ने गर्छ। जायज गुनासाका सम्बोधन सम्बन्धित निकायको जिम्मेवारी हुनुपर्नेमा दुईमत छैन। 

सवारीचालक अनुमतिपत्र यो समयको माग हो। सीप र दक्षता हासिल गरेका सबैलाई दिनुपर्ने हुन्छ। अति सजिलो पनि बनाउनु हुँदैन र अति कठिन पनि। प्रक्रिया र पद्धति व्यावहारिक हुनुपर्छ। यसै सन्दर्भमा बागमती प्रदेशमा यही असोज १ गतेदेखि लागू हुने गरी सवारीचालक अनुमतिपत्रको परीक्षामा नयाँ मापदण्डमा ल्याउने तयारीमा रहेको छ। यसअन्तर्गत विगतका कडा मापदण्डका विधिमा केही खुकुलोपन ल्याइँदैछ। मापदण्ड परिमार्जन अघि लाइसेन्स परीक्षामा कहीँकतै छोए वा भुँइमा टेकिए अनुत्तीर्ण हुने प्रावधान थियो। यस्तै ट्राफिक सङ्केत पालन नगर्दा, युटर्नमा बत्ती नबाल्दा, घुमाउरो रेखाको भुँइ छोइएमा लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने निश्चित नै हुन्थ्यो। यसबाहेक खाल्टाखुल्टीमा भुँइमा टेक्ने, एक पटकसम्म सवारीको स्टार्ट बन्द भए, हेलमेटको लक नलगाउँदा, सवारीको ब्रेक, टायर र ऐना दुरुस्त नहुँदा पनि लाइसेन्स प्राप्ति सम्भव थिएन। अर्को शब्दमा यी विभिन्न अवस्थामध्ये कुनै एकमा मात्र गल्ती भएमा लाइसेन्स प्राप्तिका निम्ति अयोग्य मानिन्थ्यो। यस अर्थमा विगतमा सवारीचालक लाइसेन्स प्रमाणपत्र प्राप्त गर्नु निकै कठिन दुरूहपूर्ण कार्यका रूपमा परिचित थियो। कतिपयले यसलाई न्यायिक मानेका थिएनन्।

असोज १ गतेदेखि लागू गर्ने परिमार्जित मापदण्डले कार, जिप, डेलिभरी भ्यान, मोटरसाइकल, स्कुटर, मोपेडजस्ता सवारीसाधनको लाइसेन्स परीक्षा दिनेका लागि केही सहज हुने अनुमान गर्न सकिन्छ। यसअन्तर्गत विगतमा लाइसेन्स परीक्षाका क्रममा कुनै एक गल्ती हुन गएमा लाइसेन्स हात पर्ने असम्भव प्रायः थियो तर नयाँ मापदण्डअनुरूप लाइसेन्स परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त भएमा लाइसेन्स पाउन सकिनेछ। लाइसेन्स परीक्षालाई सय पूर्णाङ्कको मानेर प्रत्येक गल्तीको निश्चित तोकिएको अङ्क घटाउँदै जाँदा ७० अङ्क प्राप्त गर्ने परीक्षार्थी लाइसेन्स पाउन योग्य मानिने भएका छन्। उदाहरणका लागि युटर्नमा बत्ती नबाल्ने परीक्षार्थीको पूर्णाङ्कमा गल्तीवापतको १० अङ्क घट्ने गर्दछ। यसैगरी अन्य गल्तीमा अङ्क घटाइनेछ। लाइसेन्स परीक्षाको अन्त्यमा ७० अङ्क प्राप्त गर्ने परीक्षार्थी लाइसेन्स प्राप्त गर्न योग्य हुनसक्ने नयाँ मापदण्डको आधार हो। 

समष्टिमा हेर्दा यो नयाँ मापदण्ड विगतको दाँजोमा बढी वैज्ञानिक तथा सुधारात्मक मान्न सकिन्छ। एक गल्तीका कारण सम्पूर्ण मिहिनेत अर्थहीन हुने अवस्थामा परिवर्तन भएको छ। यसले लाइसेन्स परीक्षामा निरन्तर असफल भइरहेका परीक्षार्थीलाई पक्कै पनि राहत पुग्ने अवस्था सिर्जना भएको छ। लिखित परीक्षा उत्तीर्ण भइसकेपछि प्रयोगात्मक परीक्षाका सन्दर्भमा बागमती प्रदेशले लागू गर्न लागिएको यो मापदण्डको अभ्यासले सवारी लाइसेन्समा देखिने बिचौलिया तथा अनियमित धन्दा नियन्त्रणमा केही सकारात्मक प्रभाव ल्याउने अनुमान गर्न सकिन्छ। सवारीचालक प्रमाणपत्रका कारण व्यक्तिले सडकमा निर्धक्क तथा आत्मविश्वासी ढङ्गबाट सवारीसाधन चलाउन सक्दछन्। सडकमा यसरी सवारीसाधन गुडाउँदा सडकमा हिँड्ने बटुवादेखि धेरैको जीउ, धनको सुरक्षाको जिम्मा पनि चालकको नै हुने गर्दछ। यस अर्थमा लाइसेन्स वितरण प्रणाली व्यवस्थित तथा वैज्ञानिक हुनु पनि त्यत्तिकै महत्वपूर्ण छ। लाइसेन्स वितरणमा थप सहजता एवं सडक सुरक्षाका विषयमा समेत सामञ्जस्यता राखेर प्रदेशहरूले आआफ्नो आवश्यकताअनुरूप यस पक्षमा जिम्मेवारी निर्वाह गर्नु उपयुक्त देखिन्छ।