• १५ असार २०८१, शनिबार

डोजरे विकासले स्थानीयलाई सास्ती

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, भदौ २६ गते । सिन्धुलीको कमलामाई नगरपालिका–४ केराबारी निवासी ३५ वर्षीय विष्णुलाल तमाङलाई यतिखेर सदरमुकाम सिन्धुलीमाढी आउन जान खनिएको सडक बिग्रिएपछि निकै सकस पर्छ । सडक पार गर्न पैदल हिँड्दा माथिबाट पहिरो खसेर मार्ला भन्ने डर छ । बीपी राजमार्गको चियाबारीदेखि केवरे–केराबारी हुँदै बाँसकटेरीसम्मको ग्रामीण सडक वर्षाले बिगारेर दयनीय बनाएपछि उहाँले सकस बेहोर्नु परेको हो । उहाँले भन्नुभयो, “एक दर्जन जति ठाउँमा पहिरो गई सडक पुरेको छ । मानिसलाई पैदल हिँडेर पहिरो छिचोल्नसमेत हम्मेहम्मे पर्दछ । कतै त पहिरो पार गर्न चार हातखुट्टा नै टेक्नु पर्दछ ।” 

प्राविधिक मूल्याङ्कनबिनाको डोजरे विकासले स्थानीयले सास्ती बेहोर्नु परेको उहाँको गुनासो छ । यतिखेर केराबारी गाउँमा कुनै मानिस बिरामी भयो भने झोलुङ्गोमा बोकेर अस्पताल पु¥याउन निकै सकस बेहोर्नु परेको छ । वर्षाको बेला सडकमा बग्ने भलले सडक खोलेर लथालिङ्ग नै बनाएको छ । वर्षा सुरु भएसँगै केवरे, केराबारी, बाँसकटेरीलगायतको गाउँमा खाद्यान्नलगायतका सामग्री ढुवानी ठप्प रहेको छ ।

स्थानीय शक्तबहादुर मुक्तान भन्नुहुन्छ, “स्थानीय तह निर्वाचनमा भोट माग्न आएका राजनीतिक दलका प्रतिनिधिले चियाबारीदेखि केवरे–केराबारी हुँदै बाँसकटेरी सडकलाई स्तरोन्नोति गरी दिगोपना दिने, केराबारी स्कुलमा पक्की भवन बनाइदिने, केराबारीमा पढ्ने विद्यार्थीलाई वर्ष दिनसम्म पुग्ने गरी मसलन्द र विद्यालय पोसाक उपलब्ध गराउनेलगायतका आश्वासन दिएका थिए । ती आश्वासन अहिले कुनै पूरा भएको छैन ।”

सडक बिग्रिएर केरावासीले खेप्नु परेको दुःख हेर्न अहिले कुनै उम्मेदवार नआएको उहाँको गुनासो छ । ‘न जित्ने आएका छन्, हार्ने नै आएका छन्,’ उहाँले थप्नुभयो, ‘उनीहरूले आएर यतिखेर दुःख हेरिदिए अनि चैँ विकासका लागि सम्झिन्थे कि ।’

उक्त सडकसँगै मात्रै नभई सिन्धुली जिल्लाका विभिन्न भागमा खनिएका ग्रामीण सडकको अवस्था पनि उस्तै छ । सदरमुकामदेखि बेल्घारी–चकमके–बाहुनतिल्पुङ सडक, सोलाभञ्ज्याङ–मझुवा सडक, खनियाखर्क–तीनकन्यालगायतका सडक यतिखेर भत्किएर दयनिय अवस्थामा रहेको स्थानीय बासिन्दा बताउँछन् । ‘ती सडकको न त वातावरणीय प्रभाव मूल्याङ्कन छ, न त प्राविधिकले आएर नापजाँच गरेका छन्,’ तीनपाटन गाउँपालिका–११ निवासी डिल्लीप्रसाद अधिकारी भन्नुहुन्छ, “सडक खन्ने बेलामा डोजरको चालक नै इन्जिनियर बनेको हुन्छ । उसलाई कता, कता भत्काउन मन लाग्छ, त्यतै भत्काएर सडक बनाएर हिँड्छ । त्यस्ता सडक वर्षाको समयमा भत्किएर राज्यको सम्पत्ति मात्रै नास भएको छ ।”