• १३ साउन २०८१, आइतबार

गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : गृहमन्त्री खाण

blog

गृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

काठमाडौं, भदौ २५ गते। गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँडन नमिल्ने बताउनु भएको छ। 

नेपाली कांग्रेसका नेतासमेत रहनु भएका गृहमन्त्री खाणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसविरुद्धमा पार्टीका नेताले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताउनु भएको हो। 

नेपाली कांग्रेसमा आवद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आवद्ध भएको हुनाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र  दायित्व दुवै भएको स्पष्ट पार्नुभयो। उहाँले आफू कांग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेको बताउनुभयो। 

गृहमन्त्री खाणले भन्नुभयो, ‘‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर, गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीले यसरी पार्टीका तरुण साथीलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन। तपाईहरुलाई जे हो ? त्यही भनिदिनु पर्दछ। अहिले नेपाली कांग्रेसको भूमिका के हो ? नेपाली कांग्रेसको एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो। त्यो म पूरा गर्नेछु। हामी गठबन्धनमा आवद्ध छौं। गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो। राजनीतिक धर्म र दायित्व हो।’’  

मन्त्री खाणले नेपाली कांग्रेसले आफ्नो हैसियत अनुसार निर्वाचनको सिट संख्या बाँडफाँड गराउने काममा भने बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताउनु भयो।