• १३ साउन २०८१, आइतबार

वीरेन्द्रनगरमा डेङ्गुको जोखिम उच्च

blog

सुर्खेत समाचारदाता

सुर्खेत, भदौ २५  गते । सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा डेङ्गु रोगको उच्च जोखिम बढेको छ। सुर्खेतमा १०५ जना डेङ्गु रोगका बिरामीमध्ये वीरेन्द्रनगरका मात्रै ७५ जना रहेका छन्। वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार सुर्खेतका नौवटा स्थानीय तहमध्ये वीरेन्द्रनगर उच्च जोखिममा रहेको छ। डेङ्गु रोगलाई नियन्त्रण गर्नुको विकल्प छैन । नियन्त्रणको मुख्य उपाय डेङ्गु बोक्ने लामखुट्टेको खोजी र नष्ट गर्नु नै रहेको विज्ञ बताउँछन्।

अघिल्लो वर्ष सुर्खेतका १२८ जना बिरामीमध्ये वीरेन्द्रनगरका ९४ जना र त्यसअघि सुर्खेतका ७९८ जना बिरामीमध्ये वीरेन्द्रनगरका मात्रै ७३९ जना डेङ्गुका बिरामी फेला परेका थिए। वीरेन्द्रनगरका १६ वटा वडामध्ये सबैभन्दा धेरै बिरामी वडा नं. ४ मा रहेका छन्। वडा नं. ४ मा १५ जना, वडा नं. ३ मा १४ जना, वडा नं. २ मा १० जना र वडा नं. ६ र ७ मा सात÷सात जना बिरामी फेला परेको जनाइएको छ।

वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार डेङ्गु रोगविरुद्ध सरसफाइको अभियान चलाउनुपर्ने, पानी जम्न नदिने, लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने हुन्छ। डेङ्गुका बिरामीलाई अत्यधिक ज्वरो आउने भएकाले सिटामोलबाहेक अन्य औषधि प्रयोग गर्न हुँदैन। 

वीरेन्द्रनगरमा डेङ्गुको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले नियन्त्रणका लागि सर्वपक्षीय सुझाव मागेको छ। सो अवसरमा नगरपालिकालाई सरसफाइमा जोड दिन, यसबाट बच्ने उपायहरू घरघरमा पु-याउन सुझाव दिइएको छ। लामखुट्टेको लार्भा र अन्डा नष्ट गर्ने, पानी जम्न नदिने, सातामा दुई पटक ट्याङ्कीलगायतमा जमेको पानी फाल्ने, पूरा बाहुला भएको कपडा लगाउने, सुत्दा झुल प्रयोग गर्न नगरवासीलाई प्रेरित गर्नुपर्ने उनीहरूको भनाइ छ। साथै यस कार्यमा नगरभित्रका सबै टोल विकास समिति, आमा समूह, विद्यालय, निजी क्षेत्रलगायत सरोकारवाला सबैलाई सचेतना जगाई परिचालन गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले डेङ्गु रोग नियन्त्रणका लागि जनचेतना नै उत्तम विकल्प भएको बताउनुभयो। यस्तो बेला ज्वरो बढी चाहिने सिटामोल पर्याप्त रहेको जानकारी दिँदै उहाँले थप जोखिम आउन नदिन सबै क्षेत्र परिचालित हुनुपर्ने उल्लेख गर्नुभयो। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले टोल विकास समितिलाई व्यापक परिचालन गरी माइकिङसहित सरसफाइ अभियान थालेर पानी जम्न नदिन आह्वान गर्नुपर्ने बताउनुभयो।