• १३ साउन २०८१, आइतबार

परिवार नियोजन गर्नेलाई पचास हजार

blog

कास्की समाचारदाता

कास्की, भदौ २५ गते ।  पोखरा महानगरपालिका–१२ ले छोरी मात्रै जन्मिएपछि परिवार नियोजन गर्ने दम्पतीलाई ५० हजार रुपियाँसहित सम्मान गर्ने भएको छ।

यस आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई वडाले नै ५० हजार पुरस्कार व्यवस्था गरेको हो।

पहिलो वर्षमा कम्तीमा पाँच दम्पतीलाई सम्मान गर्ने लक्ष्य रहेको पोखरा १२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाले बताउनुभयो। यसका लागि वडाले साढे दुई लाख रुपियाँ बजेट विनियोजन गरिसकेको छ। छोरीको भ्रूण हत्या रोकिने अपेक्षासहित पुरस्कारको व्यवस्था गरिएको हो। 

अंश र वंश धान्न छोरा नै चाहिन्छ भन्ने पुरातन सोचबाट समाज अझै मुक्त हुन सकेको छैन, बूढेसकालको सहारा भनेर छोरालाई नै चित्रित गरिन्छ, वडाध्यक्ष बाँस्तोलाले भन्नुभयो, “त्यसले छोरीको भ्रूण हत्या अझै रोकिएको छैन।” 

छोरा र छोरीबीचको भेदभावलाई न्यूनीकरण गर्ने प्रयास वडाको रहेको उहाँले बताउनुभयो। “अवसर पाए छोरीहरू पनि छोराजत्तिकै सक्षम हुन सक्छन्, राज्यले छोरीका लागि शिक्षा–स्वास्थ्यमा सहुलियतको व्यवस्था गरिदिनुपर्छ,” उहाँले भन्नुभयो।