काठमाडौँ, भदौ २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
महारानीको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएकोमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ, मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
गृह मन्त्रालयबाट प्राप्त मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, ‘‘यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ ।’’
स्वर्गीय महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि सरकारले गरेको छ ।