• ९ वैशाख २०८२, मङ्गलबार

पकेट क्षेत्र तोक्न नसक्दा बहुमूल्य जडीबुटी मासिने खतरा

blog

डिभिजन वन कार्यालय, पर्वतको कार्यालय ।

प्रनिश गिरी 

कुश्मा, पर्वत पुस १२ गते । पर्वतको जङ्गल क्षेत्रलाई पकेट क्षेत्र तोकेर संरक्षण उपयोगको नीति अवलम्बन गर्न नसक्दा बहुमूल्य जडीबुटी चोरी निकासी र मासिने खतरा बढेको छ । जिल्लाको आर्थिक विकासको मुख्य आधार मानिने जडीबुटी संरक्षण र प्रवर्द्धनमा कसैको चासो पुगेको छैन ।

उच्च पहाडी भेगमा पाइने धेरैजसो बहुमूल्य औषधीय गुणयुक्त जडीबुटीहरु अल्लो, सत्तुवा, नागबेली, पाखनवेद, रक्तमूल, भूतकेश, चिराइतो, पदमचाल, वज्रदन्ते पर्वतमा पाइन्छन् । त्यसैगरी सुनाखरी, चिराइतो, अर्गेली, टिमुर, ढकायो, चुत्रो, लोक्ता, सिल्टीमुर, धसिङ्रे, खोटो, हर्रो, बर्रो लगायतका महत्वपूर्ण जडीबुटी प्रशस्तै पाइन्छ । डिभिजन वन कार्यालय पर्वतका अनुसार जडीबुटी पकेट क्षेत्र तोक्न नसक्दा कुन स्थानमा कुन जडीबुटी कति परिमाणमा पाइन्छ भन्ने कुरा यकिन हुन सकेको छैन भने चोरी निकासीकै कारण जडीबुटीको आनुवंशिक स्रोत नष्ट हुने खतरा त्यत्तिकै छ। 

जिल्लाको उत्तरी भेगमा पर्ने ३ हजार मी.उचाइसम्म फैलिएका सामुदायिक वनहरु सहस्रधारा सामुदायिक वन, खर्सुवास सामुदायिक वन, रेसापातल सामुदायिक वन, ठुला टाउका गैंडाखर्क सामुदायिक वन, छिपछिपे सिलिङ्गे सामुदायिक वनमा प्रशस्तै औषधीय गुणयुक्त जडीबुटी प्रजातिका वनस्पति पाइन्छ । रेसापातल सामुदायिक वन लेस्पारका अध्यक्ष रहनुभएका ७३ वर्षे टेकबहादुर पुन जो जडीबुटीको प्रयोग गरी गाउँलेको उपचार गर्दै आउनुभएको छ । 

अध्यक्ष पुनले जडीबुटी चोरीनिकासी हुँदा अस्तित्व नै लोप हुन लागेको भनी चिन्ता व्यक्त गर्दै भन्नुभयो, "सामुदायिक वनमा धेरै प्रकारका जडीबुटीहरु पाइने भए पनि अहिले उचित संरक्षणको अभाव र बाहिरबाट मानिसहरु आएर जथाभावि चोरेर लैजाँदा कतिपय मासिँदै गएका छन् । पहिले प्रशस्तै पाइने धेरै प्रकारका जडीबुटीहरु अहिले थोरै मात्रामा देखिन्छन् । केही वर्ष पहिलेसम्म प्रशस्तै पाइने सत्तुवा जातको वनस्पति पाइनै छोडेको छ । यो सत्तुवा मान्छे र गाईवस्तुको खानामा विष परेमा प्रयोग गरे विष पनि मार्ने गर्छ । चोरी गर्नेलाई पनि केही गर्न सकिँदैन । गाउँका मान्छे सहर झरेका छन् । जडीबुटी संरक्षणकै लागि खट्ने र चासो दिने मान्छे पनि गाउँमा कोही छैन ।"

 खर्सुवास सामुदायिक वन उपभोक्ता समुह क्याङका अध्यक्ष नरसिंह पुनले जडीबुटीको उचित संरक्षण हुन नसक्दा धेरै प्रकारका जडीबुटीहरु चोरी निकासी हुने र जङ्गलमै खेर जाने तर गाउँललाई कुनै लाभ नहुने गरेको भनी चिन्ता व्यक्त गर्नुहुन्छ ।   

वन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर वि.कले जिल्लामा वनजन्य जडीबुटी प्रशस्तै पाइने भएर पनि बजेट र कार्यक्रम नहुँदा यस क्षेत्रमा कुनै कार्य हुन नसकेको बताउनुहुन्छ । जडीबुटी उत्पादनको सम्भावनाबारे अधिकृत वि.क भन्नुहुन्छ, "वनजन्य जडीबुटीबाट आर्थिक लाभ लिनका लागि सबैभन्दा पहिले कुन स्थानमा कुन जातिको प्रजाति कति मात्रामा पाइन्छ सोही अनुसार पहिले पकेट क्षेत्र तोकिनुपर्छ । जडीबुटीहरुको विस्तृत स्रोत सर्वेक्षण गरिनुपर्छ । पहिले पञ्चवर्षीय कार्ययोजना लागू गरिँदा जडीबुटी संरक्षण गर्नका लागि कुनै खास पहल हुन सकेन ।"

 डिभिजन वन कार्यालय, पर्वतको आ.व०८१⁄०८२ को स्वीकृत वार्षिक कार्यक्रममा समेत जडीबुटी संरक्षण र प्रवर्धनसम्बन्धी एउटै कार्यक्रम समेटिएको छैन । जिल्लामा वन उपभोक्ता समूह गठन भई १४ हजार ४२२ हेक्टर वन क्षेत्र करिब ४४ हजार १०४ घरधुरीका स्थानीय समुदाय वनसँग जोडिएको भए पनि अहिलेसम्म समुदायस्तरबाट समेत जडीबुटी संरक्षण र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएर आम्दानी गरेको पाइँदैन । 

पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख अशोककुमार नेपालीका अनुसार जिल्लास्तरमा जडीबुटी प्रशोधनसँग सम्बन्धित एउटै उद्योग दर्ता भएको छैन ।