• १३ साउन २०८१, आइतबार

बीपीको मेलमिलाप नीतिले गठबन्धन बन्यो : नेता पौडेल

blog

अमरराज नहर्की

तनहुँ, भदौ २३ गते। नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ।

१०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ पहिलो चरणको समापनको क्रममा शुक्रबार वरिष्ठ नेता पौडेलले मेलमिलापको नीतिको अनुसरण गर्दै मुलुकमा अन्तरपार्टी गठबन्धन गराउनु परेको बताउनुभयो। 

मेलमिलापको नीतिले एकता गराई केपी ओलीले विघटन गरेको संविधानको रक्षा गर्न सफल भएको बताउनुभयो। नेता पौडेलले मुलुकको स्थायित्व र दिगो विकासको लागि गठबन्धन अपरिहार्य रहेको बताउनुभयो। देशमा स्थायित्व कायम गर्न बीपीको आर्दश र विचारलाई सबैले अवलम्बन गर्नुपर्ने उहाँको जोड थियो।  

बीपीको विचारलाई व्यवहारमा पालना गर्न नसक्ने पार्टी भित्रकै केही नेताको अन्तरर्घातका कारण पार्टी कमजोर भएको उहाँले बताउनुभयो। ‘रुखबाट फाइदा लिने र रुखलाई नै ढाल्ने अन्तरघात मौलाएको छ त्यसको अन्त्य गरिनु पर्छ’, नेता पौडेलले भन्नुभयो। मंसिर ४ गते हुने निर्वाचनमा अन्तरघात नगरीकन पार्टीका सबै कार्यकर्तालाई हातेमालो गरेर निर्वाचन सफल गराउने अभियानमा सरिक हुन समेत नेता पौडेलले आग्रह गर्नुभयो। तनहुँमा कांग्रेसकै कारण विकासले गति लिएको र ठूलाठूला योजना परेको पौडेलले बताउनुभयो।

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले लोकतन्त्रलाई बचाउनको लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो।

 कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, नेपाली काङ्ग्रेस तनहुँका सभापति जितप्रकाश आले, निर्वतमान सभापति बैकुण्ठ न्यौपाने लगायतले बीपीको विचारलाई आत्मसाथ गर्दै पार्टीले गाउँ केन्द्रित कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको थियो।