• २७ पुस २०८१, शनिबार

घोषणापत्रमा नेपालको १५ वर्षको सपना आउने छ : महामन्त्री शर्मा

blog

नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९ औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ।

सुन्दरीजल (काठमाडौं), भदौ २४ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको घोषणापत्रमा १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताउनु भएको छ । उहाँले त्यसका लागि कांग्रेसलाई रूपान्तरण गरेर नवीन बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

शुक्रबार सुन्दरीजलमा नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९ औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजकसमेत रहनुभएका महामन्त्री शर्माले ५ वर्षको सरकारको कुरा नभई १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटेर घोषणापत्र बनाउने बताउनु भयो ।



महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तरतामा नवीनता थपेर अघि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले विगतका कमी कमजोरीलाई आत्मालोचना गरी रूपान्तरित काँग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक छ भन्नुभयो ।

उहाँले नेपाली कांग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकूलताको बीचमा नेपाली कांग्रेसलाई बलियो दलको रूपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नवीन बन्नुपर्छ । यसको रूपान्तरण गर्न जरुरी छ । रूपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली कांग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नवीनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नवीनता पनि अघि बढाउनु पर्छ । वर्षमा भएका कमजोरीलाई हामीले आत्मालोचना गरेर जानुपर्छ । एक वर्षमा हुन खोजेका प्रयत्नहरूमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ ।’’

उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेस पार्टीको सदस्य हुनुको नाताले उज्यालो अनुहार बनाएर, नागरिक पङ्क्तिमा हामीले हाम्रा कमजोरीहरू जे भए पनि त्यसलाई आत्मालोचना गरेर मङ्सिर ४ गते नेपाली कांग्रेस पार्टीलाई बलियो दलको रूपमा बहुमत लक्षित दलको रूपमा उभ्याउन हामी लागि पर्नेछौँ ।’’

नेपाली कांग्रेस पार्टीले २१ औँ शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको सुरुवात गर्दैछ । आज मानिसहरूको बीचमा आशङ्का छ । कतै नेपाल श्रीलङ्का हुने त होइन भन्ने आशङ्का छ । तर यो भ्रमपूर्ण प्रचार हो । अहिले नेपालको अवस्था त्यो छैन, महामन्त्री शर्माले थप्नुभयो ।

घोषणापत्रका बारेमा चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘उनीहरूले २५ वर्ष लामो हिंसा व्यहोरे, हामीले १० वर्षको हिंसा व्यहोर्‍यौं । उनीहरूले हिंसालाई बन्दुकले समाधान गरे, हामीले वार्ताबाट समाधान गर्‍यौँ । उनीहरूले ऋणमाथि ऋण लिए, हामीले ऋणभन्दा अनुदानमा जोड दियौँ । तर विगतमा बनाएका ठूला प्रोजेक्ट सुरु गर्दै गर्दा कतै हामी ऋणमा त डुब्दै छैनौँ ? ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? ऋण लिने कुरामा बुद्धिमत्ता नपुर्‍याउँदा कमजोरी हुने त होइन ? घोषणापत्र लेख्दा यी कुरामा पनि ध्यान दिनेछौँ ।’’