• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिबाट नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजियो : प्रचण्ड

blog

शुक्रबार पोखरामा पत्रकारसँग बोल्नुहुँदै पुष्पकमल दाहाल (प्रचण्ड) । तस्बिरः रमेश पौडेल

पोखरा, भदौ २४ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाउनुभएको छ । 

प्रेस सेन्टर समन्वय समिति कास्कीले शुक्रबार बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता प्रचण्डले केही समय अगाडि राष्ट्रपतिसँग भेट गर्दा विधेयकलाई ठूलै राजनीतिक एजेन्डामा लैजान खोजेको महसुस भएको खुलासा गर्नुभयो । 



‘संविधानतः अब दोस्रो पटक विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी सुखै छैन, प्रमाणीकरण नभएमा कि त अदालत जान्छ कि त राष्ट्रपतिको राजीनामा हुन्छ । यसपछि राजनीतिले नयाँ मोड लिन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यही विधेयक हो, केपी ओली सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रपति क्षणभरमै प्रमाणीकरण गर्नुभयो, अहिले अदालतले सांसदबाट लिएर आउँ भनेर संसद् प्रक्रिया मिलाई पास गरेको विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिप्रति नै शङ्का गर्नुपर्ने ठाउँ छ ।’

‘जन्मसिद्ध नागरिकताका आधारमा नेपाली नागरिकको लागि नागरिकताबाट वञ्चित गर्नु हुन्न भन्ने मान्यताले तत्कालका लागि करिब सात लाख नेपालीलाई नागरिकता दिन यो विधेयक ल्याइएको हो, दाहालले भन्नुभयो । विदेशीसँगको वैवाहिक नागरिकताको सम्बन्धमा राज्य व्यवस्था समितिले ७ वर्षको प्रावधान राखेको छ, योचाहिँ पछि नै संसद्ले निर्णय गर्नेछ,’ उहाँको भनाइ थियो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको विषयलाई लिएर सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे पत्रकारको जिज्ञासामा उहाँले आज साँझसम्म पुरै टुङ्गो लगाउने बताउनुभयो । ‘हिजो (बिहीबार) नै टुङ्गो लगाउने भनिए पनि कार्यव्यस्तताले ढिलाइ भएको बताउनुभयो । 

Author

रमेश पौडेल