• १३ असोज २०८१, आइतबार

सेना र प्रहरीलाई १० दिनभित्र बहाल कर बुझाउन महानगरको आग्रह

blog

काठमाडौं, भदौ २३ गते । काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरीसहित १० वटा निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ ।

बिहीबार महानगरका विभागीय प्रमुख डा. शिवराज अधिकारीले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्सहित १० निकायले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको भन्दै बहाल कर बुझाउन अनुरोध गर्नुभएको हो ।

महानगरले पटक–पटक पत्र लेखी कर बुझाउन ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर र सो को जरिवानासहित बुझाउन प्रमुख अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । अन्यथा, राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले जनाएको छ ।

काठमाडौं महानगरले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्साल, समाज कल्याण परिषद् लैनचौर, शङ्करदेव क्याम्पस, आर.आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रङ्गशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई बहाल कर तिर्न पत्राचार गरेको छ ।