• २४ पुस २०८१, बुधबार

पर्यटकीयस्थल घोडेपानीमा हिमपात

blog

घोडेपानीमा परेको हिउँ ।

म्याग्दी, पुस २३ गते। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ। 

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो।  घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताउनुभयो। 

“दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,” उहाँले भन्नुभयो, “ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ।” हिमपातपछि चिसो बढेको छ। जनजीवन प्रभावित भएको छ। स्थानीयवासी घरभित्रै आगो तापेर बसेका छन्। 

आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ। करिब तीन महिनापछि वर्षा भएको हो। हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकले बताएका छन्।