• २४ पुस २०८१, बुधबार

पार्टीभित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन् : अध्यक्ष ओली

blog

प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, पुस २३ गते। प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्षले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूह कायम नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताउनुभएको छ।

एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूह कायम नरहेकाले त्यस्ता पूर्व समूह खोज्नतिर नलाग्न आग्रह गर्नुभएको हो। 

“एमालेमा अब कुनै पनि पूर्व समूह छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ। भरभराउँदो आजको एमाले खोजौँ’’, अध्यक्ष ओलीले भन्नुुभयो, “हामी यथास्थितिवादी होइनौँ। क्रान्तिकारी हौँ। हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो। हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ।’’

अध्यक्ष ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता स्वीकार्य नहुने स्पष्ट गर्नुभयो। 

उहाँले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेससहितको वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरू सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरू चुनावदेखि चुनावसम्मको केवल सत्ता-यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गर्नुभयो।


अध्यक्ष ओलीले पार्टीका नेता-कार्यकर्तालाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गर्नुभयो। प्रधानमन्त्री ओलीले असंलग्न परराष्ट्र नीति र सन्तुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताउनुभयो। उहाँले नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गर्नुभयो। 

  अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित 

यही पुस २१ गतेदेखि सुरु भएको एमालेको आठौं केन्द्रीय कमिटी बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना तथा समसामयिक प्रस्ताव पारित गर्दै मङ्गलबार सकिएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिनुभयो । 

उहाँले बैठकले काँग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको समेत बताउनु भयो । बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्दर्भमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत बताउनु भयो । 

उहाँकाअनुसार सत्तारुढ दलहरुबीचको आपसी विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम सफल होस् भन्ने कामना गरेको छ । 

उहाँले विगत तीन दशकमा सशस्त्र द्वन्द्व, कोरोना महामारी र नाकाबन्दीका बाबजुद मुलुकले प्राप्त गरेका उपलब्धिहरु महत्वपूर्ण भए पनि समाजवाद उन्मुख राज्य निर्माणमा हामी दृढ भएर अघि बढ्ने संकल्प बैठकले लिएको बताउनु भयो । उहाँले ‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि आत्मविश्वासका साथ बढ्ने र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरण गर्ने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरिएको समेत बताउनुभयो ।