• १३ वैशाख २०८१, बिहिबार

पूर्व राष्ट्रपति यादवको प्रश्न : जनतामा जान किन अंशबण्डा

blog

काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवम् बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहमा सहभागी पूर्व राष्ट्रपति डा. रामवरण यादव । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते ।
 पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवम् बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति डा. यादवले यस्तो चिन्ता प्रकट गर्नुभएको हो ।

डा. यादवले बीपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेतालाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताउनुभयो ।

पूर्व राष्ट्रपति यादवले भन्नुभयो, ‘‘बीपीले कांग्रेसका महाधिवेशनहरूमा बोल्नुभएको छ, त्यो महत्त्वपूर्ण छ । बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, बीपीले बोलेका राजनीतिका  विषय काँग्रेसीलाई पढ्नलाई फुर्सद छैन । सोझै कांग्रेस छिर्छन् । किनकि टिकट किन्नेलाई कांग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, काँग्रेसीमा लागेकालाई फुर्सद नै छैन । पैसामा टिकट बेचिरहेको छ ।’’



कांग्रेस पार्टीमा रहेर पसिना बगाउनुभन्दा पैसा दिएर टिकट किन्नेको मूल्याङ्कन बढी हुँदै गइरहेको पूर्व राष्ट्रपति यादवको आरोप छ । उहाँले समानुपातिकबाट सांसद बन्नका लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताउनुभयो ।

‘‘समानुपातिक, वडा र पालिकाको टिकट बिक्री भएको छ । अहिले विधिको बारेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके । बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ, तर अहिले देशको अवस्था कस्तो छ ? बीपीको एक गुण पनि हामीमा छैन ।’’ उहाँले भन्नुभयो ।

डा. यादवले थप्दै भन्नुभयो, ‘‘कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेको छ । जनताको बीचमा जान पनि अरू पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । काँग्रेसका बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’’


फलको चिन्ता गर्नु हुँदैन :  डा. कोइराला

कार्यक्रममा कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले आफूले धेरै डाक्टरहरूलाई अध्यापन गराएको उल्लेख गर्नुहुँदै अहिले डाक्टर राम्रा तर अप्रेसन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेसन गर्छु भन्ने किसिमका डाक्टरहरू रहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

डा. कोइरालाले भन्नुभयो, ‘‘जीवन भनेको प्रयत्न हो, फलको चिन्ता गर्नु हुँदैन, प्रयत्न गरिराख्ने हो । मैले धेरै डाक्टरलाई पढाएँ । १६ वर्ष कटिसकेको डाक्टरको चरित्रमा परिवर्तन गर्न नसकिने रहेछ । राम्रो डाक्टर बनाएँ । तर उनीहरू के गर्छन् भने बिरामीलाई टेलबमा राखेपछि भन्छन्, तिम्रो पेट म चिर्छु तर तिमीले ६० हजार रुपियाँ मलाई दिनुपर्छ । त्यस्तो, डाक्टर बनाएँ, डाक्टर राम्रा तर चरित्र नभएका ।  आफूलाई पीडा हुँदा पनि अरूको सेवा गर्नु नै डाक्टरी पेसा हो ।’’

विसं. २०७८ को बीपी कोइराला सेनानी सम्मान तिलक कायस्थलाई प्रदान गरिएको छ । त्यस्तै, २०७९ बीपी कोइराला सेनानी सम्मान पुरस्कार शान्ति कार्की र २०७९ बीपी कोइराला साहित्य सम्मान पुरस्कार कृष्णप्रसाद गौतमलाई प्रदान गरिएको छ ।

जननायक बीपी कोइराला स्मृति ट्रस्टद्वारा आयोजित सम्मान अर्पण तथा पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता ट्रस्टका अध्यक्ष पुरुषोत्तम बस्नेतले गर्नुभएको थियो । त्यसैगरी, ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले संस्थाका गतिविधिबारे जानकारी दिनुभयो ।