• २८ पुस २०८१, आइतबार

जनता देशका मालिक हुन् : प्रम

blog

काठमाडौँ, भदौ २३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएको र उनीहरूले नै सत्तामा कसलाई पु-याउने वा नपु-याउने भन्ने निर्णय गर्ने बताउनुभएको छ। 

नेपाल महिला सङ्घ केन्द्रीय समितिले बुधबारदेखि काठमाडौँमा सुरु गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टीभित्रका सक्रिय र सक्षम महिलालाई निर्वाचनमा नेपालको संविधानले तोकेअनुसारको अवसर प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “तर टिकट पाइसकेपछि जितेर देखाउनुहोस्। हार स्वीकार  हुने छैन।”

पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले यतिबेला कांग्रेस पार्टी निकै अप्ठ्यारो अवस्थामा रहेको भन्दै सबै कार्यकर्तालाई जनतासँग सम्पर्क बढाउन र उनीहरूलाई खुसी पार्दै विश्वास जित्न सक्रिय हुन पनि निर्देशन दिनुभयो। उहाँले महिलाले आफ्नो भूमिका आफैँ लिन र सङ्गठनलाई थप बलियो बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहले परिवर्तित र डिजिटल युगमा पार्टीका सबै नेता कार्यकर्ताले पनि सोहीअनुरूप आफूलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो। उहाँले राजनीति आफैँमा निकै निर्मम हुने भएकाले कसैले कसैप्रति दया राख्दैनन् भन्दै महिला आफैँ सक्षम र सबल भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले दक्षिण एसियामा नेपाली महिलाले पाएको अधिकार सबैभन्दा अगाडि रहेको चर्चा गर्नुभयो। पार्टीका सहमहामन्त्री डिना उपाध्यायले नेपाली कांग्रेसको हरेक आन्दोलनमा महिलाको भूमिका उत्तिकै रहेको बताउँदै आगामी निर्वाचनका लागि टिकट दिँदा कम्तीमा ४० प्रतिशत महिलालाई उम्मेदवार हुन अवसर दिइनुपर्ने माग गर्नुभयो।

सङ्घका अध्यक्ष उषा राउत मिश्रले आगामी निर्वाचनमा कसरी अगाडि बढ्ने र उम्मेदवार भएकाहरूले के कस्तो रणनीति अपनाउनुपर्छ भन्नेबारेमा तालिम प्रदान गरिने बताउनुभयो।