• १३ साउन २०८१, आइतबार

बेँसीसहर नगरपालिका बालमैत्री

blog

लमजुङ समाचारदाता

लमजुङ, भदौ २१ गते । लमजुङको बेँसीसहर नगरपालिकालाई २०८२ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाइएको छ। ‘बालअधिकार र बालमैत्री स्थानीय शासन प्रवद्र्धनमा ऐक्यबद्धता, बेँसीसहर नगरपालिकालाई बालमैत्री बनाउने हाम्रो प्रतिबद्धता, बाल अधिकारको सम्मान र बालमैत्री स्थानीय शासनका लागि हामी प्रतिबद्ध छौँ’ भन्ने नाराका साथ १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको छ। 

ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) लमजुङ र वल्र्ड भिजनको सहयोगमा सञ्चालित बाल अधिकार, बालमैत्री स्थानीय शासन तथा बालमैत्री आचारसंहिता निर्माणसम्बन्धी तीनदिने कार्यशाला गोष्ठीमा सम्बद्ध पक्षले यस्तो प्रतिबद्धता जनाएका हुन्। नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, स्वास्थ्य एवं शिक्षा शाखा प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको हो। बालमैत्री स्थानीय शासनको अवलम्बन, सूचकहरूको प्रभावकारी कार्यान्वयन गरी नगरपालिकालाई २०८२ सालभित्र बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको नगरपालिका उपप्रमुख पद्मा गुरुङले बताउनुभयो। 

नगरपालिकाको वडा नम्बर १ र ६ लाई आरसीडीसी र वल्र्ड भिजनकै सहयोगमा यसअघि नै बालमैत्री वडा घोषणा भइसकेको उहाँले बताउनुभयो। वडा नम्बर २ र १० लाई २०७९ सालभित्र नै बालमैत्री बनाउने गरी काम अघि बढेको आरसीडीसीका सचिव सोमबहादुर विश्वकर्माले बताउनुभयो। 

उहाँका अनुसार वडा नमबर ३, ४, ५, ९ र ११ लाई २०८० सालभित्र र वडा नम्बर ७ र ८ लाई २०८१ सालभित्र घोषणा गरिनेछ। सो अभियानअन्तर्गत टोलटोलमा बाल क्लब तथा सञ्जाल गठन र पुनर्गठन भएका छन्। 

त्यस्तै विद्यालय, सार्वजनिक स्थल, बाल सरोकारका क्षेत्र, स्थानीय तह तथा बालबालिकासँग सम्बन्धित समग्र क्षेत्रलाई बालमैत्री, अपाङ्गतामैत्री र लैङ्गिकमैत्री बनाइने छ। बालअधिकारका चार सिद्धान्त, चार अधिकार तथा बालमैत्री स्थानीय शासनको ५१ सूचकको प्रभावकारी कार्यन्वयन गरी बालमैत्री बनाइने आरसीडीसीका संस्थापक अध्यक्ष राजेन्द्र बोहराले बताउनुभयो। बेँसीसहर नगरपालिका–९ का बाल सञ्जालका अध्यक्ष अंशु अधिकारीले बालमैत्री वडा तथा पालिकाको काम गरिरहँदा बालबालिकाको मानसिक स्वास्थ्यको कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो।