• १३ साउन २०८१, आइतबार

लालपुर्जा पाएकाले कटेरो बनाउने

blog

कास्की समाचारदाता

कास्की, भदौ २१ गते  । पोखरा महानगरपालिका–१४, शान्ति टोलका दलबहादुर विक र लामाचौर–१७ बस्दै आउनुभएकी सरुमा खत्री हातमा जग्गाको लालपुर्जा परेपछि निकै खुसी देखिनुभएको छ। 

वर्षौंदेखि सुकुम्बासी जीवन बिताइरहनुभएका विक र खत्रीजस्तै अन्य ३९ जनाको मुहार पनि खुसी देखिन्थ्यो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले पुर्जा वितरण गर्नुभएको उक्त कार्यक्रममा सहभागी उहाँहरूको एउटै भनाइ थियो, “पुर्जा पाइयो, अब कटेरो बनाउछौँ।” 

मन्त्री श्रेष्ठले कास्कीका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ३९ घरधुरीले लालपुर्जा वितरण गर्नुभएको छ। मन्त्री श्रेष्ठले जनताको नैसर्गिक हक रक्षार्थ सरकारले लालपुर्जा वितरण थालेको बताउनुभयो।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगले स्थानीय सरकारसँग मिलेर देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम गरिरहेको बताउनुभयो। सो आयोगले पोखरा महानगरपालिकाअन्तर्गत वडा नम्बर १४, १७, १९, २५, २८, २७, ३१, ३३ वडाका भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। आयोगको कास्की समितिको साउन २५ गतेको बैठकले ४९ जनालाई लालपुर्जा वितरण गर्ने निर्णय गरेको थियो। 

चार स्थानीय तहमा तीन हजार ६८९ जना दलित, चार हजार ३३४ भूमिहीन सुकुम्बासी रहेको तथ्याङ्कमा उल्लेख छ। पोखरामा झन्डै २० हजार र अन्य चार गाउँपालिका अन्नपूर्ण, माछापुच्छे«, रूपा र मोदी छ हजार गरी करिब २६ हजार भूमिहीन र अव्यवस्थित बसोबास रहेको आयोगले उल्लेख गरेको छ।