• १३ साउन २०८१, आइतबार

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

blog

चोरीको मोटरसाइकलसहित पक्राउ परेका प्रभु बस्नेत । तस्बिर : ट्राफिक प्रहरी

गोरखापत्र अनलाइन

काठमाडौं भदौ २० गते । भक्तपुरको राधेराधेबाट चोरीको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ बस्ने ३२ वर्षीय प्रभु बस्नेत रहेका छन् । बस्नेतलाई प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेबाट सोमबार पक्राउ गरेको हो । 

बाग्मती प्रदेश ०२–०१५ प ८२ ७७ नम्बर रहेको मोटरसाइकलको नम्बर परिर्वतन गरी बाग्मती प्रदेश ०२– ०१५ प ०८५१ नम्बर राखेर मोटरसाइकल चलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाग्मती प्रदेश ०२–०१५ प ८२७७ नम्बरको मोटरसाइकल चोरी भएको भन्दै काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ बस्ने संग्रमसिंह दोङले प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिनुभएको थियो । 

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रणको कार्य निरन्तर भएपनि चालक स्वयं चनाखोका साथै सजक हुनुपर्ने  प्रवक्ता भट्टले बताउनुभयो । सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायको प्रयोग गर्न प्रवक्ता भट्टले सबैमा अनुरोध पनि गर्नुभयो ।

सवारी साधन हराएको थाहा पाउन साथ ट्राफिक प्रहरीको हटलाईन १०३, नेपाल प्रहरीको हटलाईन १०० मा फोन गरेर जानकारी दिन सकिने वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने उहाँको भनाइ छ ।