• ३ वैशाख २०८२, बुधबार

विविधताबिच एकता

blog

नेपाल हरेक दृष्टिले विविधायुक्त मुलुक हो । भूगोलका हिसाबले हिमाल, पहाड र तराई नेपालको विशिष्ट विशेषता विश्वमा बिरलै पाइने गर्छ । पूर्वदेखि पश्चिम फैलिएको हिन्दकुश शृङ्खलाको मुख्य भूमि नेपालको हिमाल पर्वत पृथ्वीको तेस्रो ध्रुवसमेत मानिन्छ । हिमालय पर्वतको यो हिमशृङ्खलाले एसियासँगै समग्र पृथ्वीकै जलवायु सन्तुलन राख्ने भूमिका निर्वाह गरिरहेको छ तर जलवायु परिवर्तनको असरले हिमालको हिउँ पग्लिँदै जाँदा एसियाको विशाल जनसङ्ख्याले प्रतिकूल भोगिरहेको छ । मानव सभ्यतासँगै समग्र पर्यासन्तुलनमा परेको दुष्प्रभाव न्यूनीकरण गर्नु समकालीन चुनौती भएको छ । जलवायु विविधताको संरक्षणले नेपालसँगै समग्र पृथ्वीको पर्यावरणीय सन्तुलनमा सहयोग पुग्ने छ । नेपाल भौगोलिक रूपमा मात्र होइन, जनसङ्ख्या, बसोबास, भाषा, संस्कृति, कला, रहनसहन आदि सबै हिसाबले पनि विविधायुक्त छ । कतिपयले यस्तो विविधतालाई समस्याका रूपमा औँल्याउने कुचेष्टा पनि गर्छन् तर यो विविधता नै नेपालको वास्तविक सम्पत्ति हो । यो सम्पत्तिलाई चिरकाल पर्यन्त संरक्षण गर्दै समृद्धितर्फ अग्रसर हुन नेपालले बलियो संस्थागत संरचना तयार पारेको छ । यो अनुपम संरचना सङ्घीयता हो । लोकतान्त्रिक गणतन्त्रमार्फत नागरिक शक्तिलाई समग्र निर्माणको ऊर्जा बनाउने संविधानकै मूल ध्येय रहेको छ । यो लोकतान्त्रिक उपलब्धिका अनेक चरण पार गर्ने क्रममा नेपाली जनताको लामो सङ्घर्ष भयो । सङ्घर्षलाई निष्कर्षमा पुर्‍याउने क्रममा २०४६ सालमा आजैका दिन पञ्चायती निरङ्कुशता अन्त्य भएको थियो । प्रजातन्त्र पुनस्र्थापनाले नेपालको विविधतालाई अझै संस्थागत गर्दै आजको गणतान्त्रिक युगमा प्रवेश गरेको स्मरणीय छ । फेरि निरङ्कुशता फर्काउने कतिपयको कुचेष्टा नेपालको समग्र विविधता नबुझेकाहरूको सतही तृष्णा मात्रै हो ।

नेपालले देशीय विविधता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गरी अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउँदै अगाडि बढिरहेको छ । समग्र नेपालीको हक, अधिकार र शक्तिलाई संस्थागत गर्दै समृद्धितर्फको यो यात्रालाई अवरोध गर्ने कतिपय प्रवृत्ति किमार्थ उचित छैन । अझ कतिपय प्रवृत्ति त संविधान अन्तर्गत शपथ खाएर त्यही संविधानविरुद्ध लागिरहेको नसुहाउने दुस्कर्म पनि देखिन्छ । शायद यसै प्रवृत्तिलाई सङ्केत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले इमानदारीको खडेरीपनको अवस्था भन्नुभएको छ । फरेन अफेयर्स मिडियाद्वारा सोमबार आयोजित ‘हिमालयन डायलड’ को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान अन्तर्गत शपथ खाई संसद्मा आएर संविधान मान्दिन भन्ने कतिपयको मौजुदा प्रवृत्तिप्रति प्रश्न उठाउनुभएको छ । सङ्घीयताले देशलाई युगौँदेखिको केन्द्रीकृत शासन व्यवस्थालाई विकेन्द्रीकृत गरी नागरिकको घरदैलोमा सिंहदरबारको अधिकार पुर्‍याएको छ । देशका ७५३ स्थानीय सरकारले नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेका छन् । विविधताको प्रतिनिधित्व गर्ने गरी राजनीतिक प्रतिनिधित्वले संस्थागत आकार ग्रहण गरिरहेको छ । राजनीतिक तवरमा मात्र होइन, निजामती प्रशासनलगायत राज्यको सम्पूर्ण संयन्त्रमा महिला, मधेशी, दलित, जनजातिका साथै पिछडिएको वर्ग, क्षेत्र र समाजको सुन्दर प्रतिनिधित्वले विविधताको बलियो संरचता तयार भइरहेको छ । वास्तवमा यो विविधता नै राज्यको सही ऊर्जा र शक्तिसमेत हो ।

अनेक तवरले विविधतायुक्त नेपालले संसारको ध्यानाकर्षण गर्न केही इतिहासमा अङ्कित हुन सक्ने प्रयासलाई अगाडि बढाइरहेको छ । आगामी जेठको आरम्भमा तय गरिएको सगरमाथा संवाद यस्तै प्रयासको महत्वपूर्ण कडी हुने विश्वास गरिएको छ । विश्वलाई मौजुदा महत्वपूर्ण समस्यामा मिलेर काम गर्न यसले नवीन खालको मञ्च उपलब्ध गराउने छ । जलवायु परिवर्तनको कुचक्रले संसारलाई नै आक्रान्त पारिरहेको छ । जैविक इन्धनको अति दोहनले संसार जलवायु सङ्कटरित अग्रसर छ । अनेक विविधतामा प्रतिकूलता आइरहेको छ । अति वर्षा, अनावृष्टि, मरुभूमीकरण आदिको चरम समस्या आइरहेका छन् । नेपालले हिमाल र त्यहाँको हिउँ जोगाउन विश्वलाई जगाउनु परेको छ । अब व्यापक जैविक इन्धन होइन, हरित ऊर्जा र हरित अर्थतन्त्रको निर्माणमा संसारसँग हातेमालो गर्नु परेको छ । जलवायु वित्तको संस्थागत अवधारणालाई कार्यान्वयनमा ल्याउन सके मात्र विश्वका विकासशील मुलुक आर्थिक तथा सामाजिक विकासका चुनौती पार गर्दै अगाडि बढ्न सक्ने छन् । यी सबै कार्यका निम्ति सगरमाथा संवाद नवीन अवधारणा हो । यसकै तयारीका निम्ति अनेक चरणका कार्यक्रम अगाडि बढिरहेका छन् । ‘हिमालयन डायलड’ को पहिलो शृङ्खला यसैमा केन्द्रित देखिएको छ । लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्दै संसारलाई जलवायु परिवर्तनलगायतको महत्वपूर्ण मुद्दामा अग्रसर भइरहेको नेपालको अहिलेको अवस्था अलमल गर्ने बेला होइन । समग्र एकता नै देशीय बल बनाउँदै अगाडि बढ्नु वाञ्छनीय छ ।