• २२ असार २०८१, शनिबार

बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सब स्टेसनको उद्घाटन

blog

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गर्नुहुँदै । तस्बिर : नेपाल विद्युत प्राधिकरण

भैरहवा, भदौ २० गते । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सब स्टेसनको उद्घाटन गर्नुभएको छ । प्रसारण लाइन र सब स्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

‘‘विद्युत् नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत् पुर्‍याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि काम गरिरहेका छौँ, यसका साथै बूढीगण्डकीलगायतका ठूला जलाशययुक्त आयोजना निर्माण गरिने छ,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘खाना पकाउन प्रयोग हुने एलपि ग्यासको विस्थापित गर्ने, उद्योगलाई मागे जति विद्युत् दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिंचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नु पर्छ ।’’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सब स्टेसन निर्माणपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको र उद्योगहरूलाई मागे जति विद्युत् दिन सकिने अवस्था बनेको बताउनुभयो । बुटवल सब स्टेसनमात्र विद्युत् आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै उहाँले अब यस क्षेत्र विद्युत् हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताउनुभयो ।


‘‘लोडसेडिङ अन्त्य एउटा काम थियो, अब वितरण प्रणाली सुधार र २४ सैं घण्टा भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति, उद्योगलाई माग जति विद्युत् दिन पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि काम भइरहेको छ, अहिले आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत् दैनिक रूपमा झण्डै १० करोड रुपियाँको निर्यात गरिरहेका छौँ ।’’

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे र चेम्बर अफ कमर्शका जेपी कँडेलले प्रसारण र सब स्टेसन सञ्चालनपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको उल्लेख गर्नुभयो ।

बुटवल सब स्टेसनबाट मैनहिया सब स्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । १३२/३३/११ केभी मैनहियामा सब स्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत् आपूर्ति दिइएको आयोजना प्रमुख हरी पाण्डेले बताउनुभयो ।

स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सब स्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । विद्युत्को भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैङ्क राखिएको छ ।


करिब १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको  निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१ मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ ।

मैनहिया सब स्टेसनबाट भारतको उत्तर प्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सब स्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सब स्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको अन्तर्देशीय विद्युत् व्यापारलाई अझ सहज बन्ने छ ।