• २५ असार २०८१, मङ्गलबार

विमानस्थलको सुरक्षा चिन्ता

blog

विमानस्थल र यसको परिसरमा हुने सानातिना सुरक्षा कमजोरी आफैँमा निकै गम्भीर चिन्ताको विषय हो। विमानस्थलका साना सुरक्षा त्रुटिले पनि सयौँ यात्रुको जीवन नै धरापमा पार्न सक्छ। राष्ट्रिय छविमा गम्भीर असर पर्न सक्छ। विमानस्थल र त्यसमा पनि अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय सुरक्षाका संवेदनशील क्षेत्र हो। त्यसैले संसारका सबै जसो विमानस्थलको सुरक्षा निकै सुदृढ एवं चुस्तदुरुस्त हुने गरेको हुन्छ। सुदृढ सुरक्षा व्यवस्थालाई विमानस्थलको एक प्रमुख पूर्वाधारका रूपमा समेत लिने गरिन्छ। मुलुकको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सम्बन्धमा विश्व कुख्यात अपराधीहरूले धेरै पहिले नै हात्तीसमेत छिराइदिने अभिव्यक्ति दिएका थिए। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाको अवस्था सम्बन्धमा यसले सङ्केत गरेको थियो। यसै सन्दर्भमा फेरि एक पटक त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भएको दुरुपयोगले नयाँ ढङ्गको परिचर्चा आरम्भ भएको छ। सुरक्षा चिन्ता बढाएको छ।


पछिल्ला अढाई महिनाका अवधिमा भएका संवेदनशील घटना हुनुले पनि मुलुकको शानको रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाको कमजोरीलाई बाहिर ल्याइदिएको छ। भदौ १७ को घटनामा एक अभियुक्त विशिष्ट कक्षको प्रयोग गर्दै विमानस्थलबाट फरार हुन सक्षम हुनुले विभिन्न किसिमका प्रश्नलाई जन्माएको छ। त्यसअघि सुनको भनिएको लौरो प्रकरण थियो। पहिलो प्रकरणमा त्रिुभवन विमानस्थल विशिष्ट कक्ष प्रयोग भएको छ। यो विमानस्थलको सुरक्षा कमजोरी मात्र हो वा अरू बढी ? संवैधानिक आयोगका प्रमुख र अभियुक्तको सम्बन्ध, विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरूको समन्वयजस्ता विविध आयामलाई ध्यानमा दिइनुपर्ने आवश्यकतालगायत पक्षमा यो परिघटनाले गम्भीर बनाएको छ।


 प्रथमतः विमानस्थलको विशिष्ट कक्षको प्रयोग गर्न दिने सम्बन्धमा परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय, त्रिभुवन विमानस्थल कार्यालयबीच स्पष्ट समन्वय तथा सहकार्य हुनु अनिवार्य देखिएको छ। भदौ १७ को घटनामा इन्टरपोललाई समेत खबर गरिएको एउटा अभियुक्त विशिष्ट कक्षको प्रयोग गरेर ‘फिल्मी’ शैलीमा विमानस्थलबाट फरार हुन सफल हुनु विशिष्ट कक्षको दुरुपयोग हो। अझ भन्ने हो भने विशिष्ट कक्षको फितलो व्यवस्थापन नै हो। भनसुनका आधारमा गरिने तथा दिइने सुविधाका कारण विभिन्न समस्या सिर्जना हुन्छन् भन्ने विभिन्न दृष्टान्तबाट स्पष्ट भइसकेको छ। यस दृष्टिकोणबाट परराष्ट्र मन्त्रालयले त्रिभुवन विमानस्थललाई विशिष्ट कक्ष उपलब्ध गराइदिन पत्र पठाउन अघि उपयुक्त तवरले अध्ययन गर्नु अत्यावश्यक देखिएको छ। हालका दिनमा विशिष्ट कक्ष प्रयोग गर्नेको सङ्ख्या मात्र उल्लेख गरिने गरेकोमा ती व्यक्तिको नामसमेत उल्लेख गरिएमा सुरक्षा निकायलाई पनि जाँचबुझका लागि सहजता हुन सक्दछ। साथै विदेशी दूतावासबाट विशिष्ट कक्षका प्रयोग निम्ति परराष्ट्र मन्त्रालयमा पठाइने पत्र प्रमाणीकरण नगरी सिधै विमानस्थल पठाउँदा विशिष्ट कक्षको दुरुपयोग बढिरहेको तथ्यप्रति ध्यानाकर्षण हुनु महत्वपूर्ण छ।

 

कालो सूचीमा रहेको अभियुक्त प्रहरीकै सामुन्ने फरार हुनुमा विमानस्थलमा तैनाथ सुरक्षा संयन्त्रको कमजोरी पनि त्यत्तिकै जिम्मेवार छ। विशिष्ट कक्ष प्रयोग गर्ने व्यक्ति सम्बन्धमा प्रहरीले जाँचबुझ गर्न आवश्यक नदेख्दा वा नसक्दा यो अवस्था आइपरेकोमा दुई मत छैन। घटनामा अभियुक्त संवैधानिक आयोगका एक प्रमुखसँगै गाडीमा बसेर विमानस्थलबाट बाहिरिएका छन्। यसरी अभियुक्त फरार हुन्छ भने त्यसमा सम्बन्धित प्रमुखसमेतको जिम्मेवारी हुन आउँछ। संवैधानिक आयोगका प्रमुखका निम्ति यो कुनै पनि दृष्टिकोणबाट सुहाउँदो विषय होइन। यसमा प्रमुखले आफ्नो नैतिक जिम्मेवारी बोध गर्नु अति आवश्यक छ। 


त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय, भन्सार कार्यालयमा सुरक्षाकर्मीका रूपमा प्रहरीहरू तैनाथ हुन्छन्। सम्भवतः यी सबै सुरक्षाकर्मीबीच सुरक्षा समन्वय तथा सहकार्य हुने गरेको भए अभियुक्तलाई फरार हुन सम्भव नहुन सक्दथ्यो। यस अर्थमा पनि सुरक्षाकर्मीहरूको समन्वय तथा सहकार्यको अभाव प्रष्टिएको छ। भविष्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत अन्य विमानस्थलमा यस्ता सुरक्षा कमजोरी पुनरावृत्त हुन नदिन प्रभावकारी गृहकार्यको आवश्यकता देखिएको छ। विमानस्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई दक्ष तथा प्रशिक्षित तुल्याउनु अति महत्वपूर्ण रहेको यस घटनाको शिक्षा हो। यस्ता घटना दोहोरिन नदिन कर्मचारी तथा सुरक्षाकर्मीले बढी सचेततापूर्वक जिम्मेवारी निर्वाह महत्वपूर्ण हुनेछ। यसै प्रकरणलाई लिएर छानबिन गर्न सरकारद्वारा गठित पाँच सदस्यीय समितिले गहनताका साथ अध्ययन अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाउने र त्यसबाट भविष्यमा सुधारका कदम चाल्न सकिने छ।