• २५ असार २०८१, मङ्गलबार

मल नल्याउने दुई कम्पनी कालोसूचीमा

blog

काठमाडौँ, भदौ २० गते । कृषि सामग्री कम्पनी लिमिटेडले समयमा रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

मल नल्याउने सिल्क जेभी र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको कम्पनीले जनाएको छ । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्रबहादुर कार्कीले तोकिएको समयमा मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको जानकारी दिनुभयो । 

सम्झौता अवधि सकिएको छ महिनासम्म पनि मल ल्याउन समय दिँदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर धरौटी जफत गरेको उहाँले बताउनुभयो ।

आव २०७८/७९ मा यी दुई कम्पनीले ५० हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी गरी कुल ५५ हजार मेट्रिक टन मल आयातको सम्झौता गरेका थिए । ती कम्पनीले समयमा मल नल्याउँदा बजारमा अभाव भएको थियो ।  

कम्पनीको कारबाहीविरुद्ध उच्च अदालतमा रिट परेपछि थप कारबाही रोकिएकामा अहिले अदालतले कालोसूची सिफारिसको बाटो खोलिदिएको कार्कीले जानकारी दिनुभयो । पछिल्लो समय नियमित रूपमा मलको आयात भइरहेको उहाँले जानकारी दिनुभयो । समयमा मल नल्याउने थप दुई बङ्गलादेशी र एक नेपाली कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्न छलफल भइरहेको कम्पनीले जनाएको छ ।

चालू आर्थिक वर्षको साउन महिनायता विभिन्न कम्पनीले ६० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी ल्याउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । केही परिमाणमा आइसकेको र बाँकी आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । 

चालू आर्थिक वर्षको बजेटमा थप ७८ हजार टन युरिया, ४२ हजार पाँच सय डीएपी र पाँच हजार पाँच सय मेट्रिक टन पोटास ल्याउने तयारी गरेको उहाँले जानकारी दिनुभयो । 

चालू आर्थिक वर्षको बजेटमा रासायनिक मल खरिद गर्न १५ अर्ब रुपियाँ बजेट विनियोजन गरिएको थियो । विनियोजन रकमले अपुग हुने भएपछि थप रकम माग गरिएकामा १६ अर्ब २० करोड रुपियाँका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको कार्कीले जानकारी दिनुभयो । यो वर्ष विकल्पमा सरकार–सरकारबीच (जीटुजी) खरिदको मलसमेत आउने भएकाले बजारमा अभाव नहुने उहाँले जानकारी दिनुभयो । गत साउन २ गते भारतसँग जीएटीमार्फत मल ल्याउन सम्झौता भएको थियो । 

हाल सात हजार पाँच सय मेट्रिक छन युरिया, डीएपी १५ हजार मेट्रिक टन मौज्दात रहेको कम्पनीले जनाएको छ । आव २०७८/७९ मा एक लाख ६० हजार मेट्रिक टन मल आयात भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेकाले कम परिणाम खरिद गरिएको उहाँले जानकारी दिनुभयो । अहिले अन्तर्राष्ट्रिय बजारमा युरिया प्रतिटन सात सय डलर र डीएपी प्रतिटन एक हजार दुई डलर रहेको छ । 

सरकारले रासायनिक मलमा अनुदान दिँदै आए पनि मागअनुुसार आयात नहुँदा बर्सेनि किसानले धान रोप्ने बेला अभाव खेप्नुपर्ने हुन्छ । कम्पनीका अनुसार मुलुकभर वार्षिक पाँच लाख मेट्रिक टन रासायनिक मलको माग रहेको छ । अहिले बजारमा डीएपी प्रतिकेजी ४४ रुपियाँ, युुरिया १५ रुपियाँ र पोटास ३२ रुपियाँ रहेको कम्पनीले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्र टे«डिङ कर्पाेरेसनले आयात गरेको मल सहकारीमार्फत वितरण हुने गर्छ ।