• ११ मंसिर २०८१, मङ्गलबार

प्रजनन केन्द्रका भाले क्षमताविहीन

नदीबाट अन्डा ल्याएर गोही जोगाउँदै

blog

शालिग्राम नेपाल

चितवन, भदौ १७ गते । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रमा रहेका भालेमा प्रजनन क्षमता नहुँदा दुई वर्षदेखि बाहिरबाट अन्डा ल्याएर पोथीलाई कोरल्न दिन थालिएको छ । 

प्रजनन केन्द्रमा रहेको भाले गोही एउटा वृद्ध भएको र अर्को अशक्त भएका कारण प्रजनन क्षमतामा ह्रास आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । यहाँको प्रजनन केन्द्रमा दुईवटा भाले गोही छन्, एउटा यहीँको वृद्ध छ, अर्को बाहिरबाट ल्याएर राखेको भाले पनि अशक्त हुँदा प्रजनन क्षमता छैन । “दुई वर्षदेखि यहाँको भालेबाट एउटा पनि बच्चा हुनसकेको छैन,” उहाँले भन्नुभयो, “राप्ती र नारायणी नदीबाट गोहीका अन्डा ल्याएर कोरल्न दिने गरेका छौँ ।” 

विश्वमै दुर्लभ रहेको घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले निकुञ्जको मुख्यालय कसरामा प्रजनन केन्द्र स्थापना गरिएको छ । निकुञ्जका सूचना अधिकारी गशेणप्रसाद तिवारीले भन्नुभयो, “२०३५ सालमा जन्मेको भाले गोहीबाट प्रजनन गराउँदै आएकोमा आर्थिक वर्ष २०७७/७८ देखि त्यो भालेबाट एउटा बच्चा पनि हुन सकेको छैन ।” वृद्ध भएकै कारण त्यसबाट अब प्रजननको कार्य हुन नसक्ने हामीले पाएका छौँ,” उहाँले भन्नुभयो, “जगेडा भाले राखौँ भनेर पाँच वर्षअघि राप्ती नदीबाट ल्याइएको भाले पनि कमजोर भएको पाइयो ।” 

निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत तथा गोहीविज्ञ वेदबहादुर खड्काले भन्नुभयो, “मौसमको तापक्रमका आधारमा गोहीको बच्चा भाले वा पोथी निस्किने गर्छ । ३० देखि ३२ डिग्री सेल्सियसको तापक्रममा भाले जन्मिने र त्योभन्दा माथि र तल तापक्रम हुँदा पोथी गोही जन्मिन्छ । प्रजनन केन्द्रमा भाले गोहीका लागि आवश्यक तापक्रम कायम गरेर विभिन्न नदीमा भाले गोही छाड्ने गरिएको छ ।”

निकुञ्ज विभागबाटै गोही विशेषज्ञका रूपमा प्रजनन केन्द्रमा खटिनुभएका खड्का नदीको प्राकृतिक बासस्थान नै गोहीमैत्री नरहेको बताउनुहुन्छ । गोहीले मुख्यगरी बालुवामा अन्डा पार्ने हो । “नदीको इको सिस्टम ब्यालेन्स छैन किनभने नदीमा हुने ढलापडा काठ माछाको घर हो । माछा गोहीको आहारा हो । नदीमा बग्दै आउने काठ प्रयोगविहीन भनेर मान्छेले प्रयोग गर्ने गर्छन्,” उहाँले भन्नुभयो, “शान्त वातावरण, कुनै प्रकारको अशान्तिको अवस्था आउन हुँदैन । अवरोध आएमा प्रजनन हुन सक्दैन ।” 

प्रजनन केन्द्रमा उत्पादन भएका नयाँ बच्चालाई नदीमा छाडिँदै आएको छ । यहीँ अर्को भाले बच्चा हुर्काउन सकिने थियो तर राख्ने स्थानको अभावमा सम्भव भएको छैन । भालेपोथी छुट्याउनका लागि कम्तीमा १२ देखि १५ वर्ष लाग्छ । त्यो अवधिसम्म सबै बच्चालाई राख्न स्थानको अभाव रहेकाले जटिलता आएको उहाँले बताउनुभयो । नदीमा रहेका भाले गोहीलाई नै प्रजनन केन्द्रमा ल्याउने तयारी भएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।