• १० मंसिर २०८१, सोमबार

डेङ्गुविरुद्ध सक्रियता

blog

केही दिनयतादेखि काठमाडाैँ उपत्यकालगायतमा डेङ्गुका बिरामी बढ्न थालेको पाइएको छ। उच्च ज्वरो आएर थलिएपछि मानिस हलचल नै गर्न नसक्ने अवस्थामा पुग्दा डेङ्गु त भएन ? भन्ने आशङ्काले पिरोल्छ। परीक्षण गर्दा लभगभ सबैलाई नै डेङ्गु भएको पाइएको छ। भदौ–असोजमा मौसमी प्रकोपका रूपमा यो रोग विगतमा पनि देखिन्थ्यो तर यति धेरै व्यापक भएको थिएन। यो पटक व्यापकै देखिन थालेको छ। डेङ्गुका कारण उपत्यकाका प्रायःजसो सबै ठूला अस्पताल बिरामीले भरिन थालेका छन्। यही क्रममा डेङ्गुका बिरामी बढ्दै जाँदा अस्पतालहरूमा उपचारका लागि शया पाउन समस्या पर्न सक्ने आशङ्कासमेत बढ्दो छ। यो अवस्था निश्चित रूपमा भयावह हुन सक्ने हुँदा सम्बद्ध निकाय समयमै सचेत भई निराकरणका उपाय खोज्नुपर्ने हुन्छ। 

एजिप्टी जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको प्रकोप हालका दिनहरूमा तीव्र सङ्ख्यात्मक वृद्धि भइरहेको छ। यसरी वृद्धि भएकै कारण त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पताललगायत अन्य विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप दिनहुँ बढ्दै गएको हो। बिरामीले शया नपाउने हुन् कि भन्ने आशङ्का अस्पताल तथा बिरामीका आफन्तलाई समेत पर्न थालेको छ। एक हिसाबले भन्दा उपत्यकामा अहिले डेङ्गुको आतङ्क नै फैलिएको छ भन्दा हुन्छ। बिरामी सङ्ख्या बढ्दै जाँदा अस्पतालका आकस्मिक तथा बहिरङ कक्षमा बिरामीलाई सेवा पु-याउन हम्मे–हम्मे परिरहेको छ। अस्पतालहरूमा दैनिक ५० भन्दा बढी डेङ्गु प्रभावितको चाप रहने आँकडाले निश्चित यसको भयावह स्थितितर्फ सङ्केत गरेको छ। भाइरल ज्वरोका रूपमा देखिने डेङ्गु रोगबाट प्रभावित हुँदा बिरामीमा थकान, उच्च ज्वरो, जोर्नी दुख्ने, आँखाका गेडी सुन्निने जस्ता लक्षण देखिन्छन्। यसैगरी बिरामीमा रक्तचापमा कमी, खानामा अरुचि, निरन्तर बान्ता भइरहने जस्ता समस्या देखिँदा सावधान रहनुपर्ने र चिकित्सकहरूको परामर्श लिनु उपयुक्त हुन्छ। डेङ्गुबाट सोमबार मात्र एक बिरामीको त्रिवि शिक्षण अस्पतालमा ज्यानसमेत गइसकेको अवस्थामा यसबाट अझै सतर्क हुनु आवश्यक देखिएको छ। कारोनाको प्रकोपले दुई/तीन वर्षयता अत्याएको अवस्थामा डेङ्गु पराजित गर्न अब साझा अभियान आवश्यक भएको छ।

भाइरल ज्वरोका रूपमा आफ्नो प्रकोप विस्तार गर्दै आएको डेङ्गुको प्रभावलाई नियन्त्रण तथा रोकथाम गर्न आफूवरिपरिको वातावरणको सफाइ एवं लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उपयुक्त उपाय रहको विज्ञहरूको भनाइतर्फ सबैको ध्यानाकर्षण हुनु आवश्यक छ। ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने डेङ्गुका लामखुट्टे नियन्त्रण गर्न आफ्ना घरवरिपरि खाडलमा पानी जम्न नदिई सफा र स्वच्छ वातावरण कायम गर्न सकिए यसको प्रकोपबाट बच्न सकिने अवस्था छ। विशेषगरी केही दिनदेखि हलचल नभएको स्वच्छ पानीमा यस्ता लामखुट्टेको लार्भा विकसित हुने गर्छ। त्यसैले पानी जम्न नदिने उपाय अवलम्बन गर्न व्यक्ति, परिवार, वडा कार्यालय र स्थानीय तहको सक्रियता अहिले जरुरी भएको छ। बर्खायाम सुरु भएयता मात्रै काठमाडौँ उपत्यकामा दुई हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन्। यो क्रम अझ केही सातासम्म रहने आशङ्का गरिँदै छ। चिसोयामसँगै डेङ्गु प्रसारमा कमी आउन सक्नेछ।

डेङ्गुको अहिलेको समस्याबाट बच्न तीनै तहका सरकार र खास गरी स्थानीय सरकार संवेदनशील हुनै पर्छ। नागरिकका लागि पहिलो सरकार त स्थानीय तह नै हो। रोग लागिसकेपछि उपचारभन्दा डेङ्गुविरुद्ध स्थानीय तहले निरोधका उपाय अवलम्बन गर्नुपर्छ। लामखुट्टे मार्ने अभियान व्यापक रूपमा अगाडि बढाउनुपर्छ। व्यक्तिले आफ्ना घरवरिपरि सफा त गर्न सक्ला तर त्यतिले आम रूपमा डेङ्गुको प्रकोप फैलिनबाट रोक्न सक्ने कुरा भएन। त्यस क्रममा ठाउँठाउँमा लामखुट्टेविरुद्ध औषधि छर्कने, पानी जम्ने खाडलहरू नराख्ने, यसका लार्भा नष्ट गर्ने कार्य स्थानीय तहले मात्र गर्न सक्छ। लामखुट्टेको टोकाइबाट बच्न झुल लगाएर सुत्ने गर्नुपर्छ तर विपन्नसँग झुलको प्रबन्ध नहुन सक्छ। चाँडो उपलब्ध गराउने काम पनि स्थानीय तहले नै गर्न सक्छ। डेङ्गुका बिरामीको उपचार गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा शयालगायतका अन्य आवश्यकीय व्यवस्थापनमा चाँडो पाइला चाल्दा नै डेङ्गुविरुद्धको अभियान सफल हुन्छ। डेङ्गुको औषधि छैन, रक्तकोषिका घट्दै जाने हुँदा बढाउने उपाय मात्र गर्न सकिन्छ। त्यसैले अझ विस्तार हुन नदिन अविलम्ब कदम चाल्नु जरुरी छ।