• ८ वैशाख २०८१, शनिबार

खराब मौसमका कारण रोकिए पर्यटक

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ १४ गते । नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका ५६ पर्यटकको टोली लिमीको ताक्चीमा रोकिएको छ । दर्शन गरेर फर्किएको यो टोली खराब मौसमको कारण हेलिकोप्टर उडान नहुँदा ताक्चीमा रोकिको हो ।

मानसरोवर कैलाशको दर्शन गरेर सोमबार सिमकोट आउनुपर्ने ५६ जना धार्मिक पर्यटक ताक्चीमै रोकिएको ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूले जानकारी दिनुभयो । ती पर्यटकलाई हेलिकोप्टरबाट सिमकोट ल्याउने कार्यक्रम रहेको भए पनि खराब मौसमका कारण हेलिकोप्टरले उडान भर्न नसकेपछि पर्यटक ताक्चीमै रोकिएका हुन् । त्यस्तै खराब मौसमकै कारण लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न ताक्ची पुगेका ९४ जना पर्यटक पनि रोकिएका छन् । खराब मौसमका कारण यो टोलीले कैलाश दर्शन गर्न सकेको छैन । 

सोमबार नै हेलिकोप्टरबाट लेकधिङ्गाबाट ताक्ची जानुपर्ने ६३ जना पर्यटक पनि जान नपाएपछि पैदल मार्गबाट सिमकोट ल्याइएको छ । ती पर्यटकलाई सिमकोट ल्याएर हेलिकोप्टरमा सिधै ताक्ची लैजाने कार्यक्रम रहेको भए पनि उडान नभएका कारण त्यो पनि सम्भव नभएको हो । 

यता सिमकोटमा रहनुभएका ४५ जना पर्यटक पनि लेकधिङ्गा जान नपाएपछि सिमकोटमै रोकिनुभएको छ । सोमबार १०८ जना पर्यटक ताक्ची जान नपाएपछि सिमकोट रोकिनुभएको छ । खराब मौसमका कारण नेपालगञ्जबाट कुनै उडान नभएपछि ८२ जना पर्यटक उतै रोकिएको लिम्बूले बताउनुभयो । 

लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न हालसम्म ३४३ जना पर्यटक हुम्ला भित्रिएका छन् । पाँच दिनयता लगातार पर्यटक हुम्ला भित्रिने क्रम जारी रहेको भए पनि सोमबार भने पर्यटक जिल्लामा भित्रिने कार्य हुन सकेन ।  

भदौ १९ गते (सेप्टेम्बर ४)मा भारतीय सद्गुरु (जग्गी वासुदेव) सिमकोट आइपुग्ने कार्यक्रम रहेको छ । सद्गुरुसहित एक हजार चार सय धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गर्नेछन् ।