• १९ असार २०८१, बुधबार

कर्णालीका उत्पादनको बजारीकरण

blog

नेपाली भाषाको उद्गम स्थल तथा प्राकृतिक सुन्दरताको खानी कर्णाली प्रदेशका अनेक आयाम छन्। त्यहाँको अर्गानिक कृषि उत्पादनको विशेष महव छ। जडीबुटी, फलफूल, कला संस्कृतिजस्ता विविध दृष्टिकोणबाट कर्णाली अझै विशिष्ट छ तर अझै राज्यले पूर्ण सदुयोग गर्न सकेको छैन। कर्णालीको चिसो हावापानीमा उत्पादित कृषि उत्पादनहरू पूर्ण रूपमा अर्गानिक बनाउन सके निकै गुणस्तरीय हुनेछन्। यही विशेषताका कारण कर्णालीका मार्सी चामल, सिमी, उवा, कागुनो, कोदोजस्ता कृषि उपजहरूको पारखी उपभोक्ता माझ उच्च माग रहिआएको छ। राजधानी उपत्यकालगायत देशका मुख्य सहर र विदेशमा समेत कर्णालीका उत्पादनले भान्सामा विशेष महव राख्ने गर्छ।

अनेक क्षेत्रमा व्यापक सम्भावना हुँदाहुँदै पनि भौगोलिक विकटताका कारण कर्णालीले खुम्चिएर रहनु परेको तीतो सत्यलाई भने बिर्सन मिल्दैन। यहाँ उत्पादित गुणस्तरीय कृषि उत्पादनहरूको बजार पहुँच हुन नसक्दा उत्पादित उब्जनीहरूको सदुपयोग हुन नसकेकै फलस्वरूप खेतबारी बाँझै राख्नुपर्ने अवस्था विद्यमान छ। यो स्थितिमा सुधार ल्याउनु अहिलेको माग हो। मुलुकका सबै क्षेत्रको सर्वाङ्गीण विकासका निम्ति यो जरुरी छ। कर्णालीको समग्र आर्थिक स्थितिलाई भरपर्दो टेवा दिन यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्नेछ। अझ यसमा सरकारी तथा निजी क्षेत्रको हातेमालो महìवपूर्ण हुन सक्छ। हाल आएर यो अवस्थामा परिवर्तन हुन सक्ने सम्भावना देखापरेको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अग्रसरतामा कर्णालीका उत्पादनको बजारीकरण विस्तार भएको छ । कम्पनीले यहाँका रैथाने कृषि उत्पादनहरूलाई सहज बजारको पहुँच उपलब्ध गराउँदै आएको छ । यो पहललाई निकै सराहनीय तथा प्रशंसनीय मान्न सकिन्छ । यसबाट कर्णालीका किसानलाई राहत मिल्ने छ । कर्णाली उत्पादनलाई सहज बजार उपलब्ध हुनु भनेको मुलुकका विभिन्न क्षेत्रका बासिन्दालाई कर्णालीको मौलिक स्वादको पहिचानको गर्ने अवसर मिल्नु हो। कर्णालीका कृषकहरूलाई आफ्ना कृषि उत्पादनको न्यायोचित मूल्य प्राप्त हुन यसले सहयोग गर्नेछ। कर्णालीका उत्पादनको बजारीकरण कदमले कर्णालीका कृषकहरूलाई उत्साह भर्ने छ। लगानीमा प्रोत्साहन मिल्ने छ। 


वैयक्तिक तवरमा कृषकहरूबाट कृषि उपज खरिद गर्दा आपूर्ति व्यवस्था सहज हुन नसक्ने अवस्थामा कम्पनीले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट गाउँपालिकासँगै कोदो, फापर, भट्मास, सिमी, उवा, कागुनोलगायत यहाँका रैथाने कृषि उत्पादन खरिद गर्ने सम्झौता पनि गरिसकेको छ। यस्तो प्रक्रिया यस अघिबाटै चल्दै आएको छ। यसबाट यी कृषि उत्पादनहरूको आपूर्ति सहज तथा व्यवस्थित हुन सघाउ पुग्नेछ। रैथाने उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने लक्ष्यसहित गरिएको यो सम्झौताले निःसन्देह कर्णालीका कृषक तथा कृषि कर्ममा सकारात्मक प्रभाव पार्नेछ। 


गाउँपालिकाले स्थानीय कृषकहरूबाट कृषि उपज खरिद गर्ने छ। खरिद गरेको वस्तुको ब्राण्डिड, प्याकेजिड पनि गर्ने सम्झौता भएको छ। यसबाट उपभोक्तालाई गुणस्तरीय कृषि उपज उपलब्ध हुने प्रत्याभूतिको सम्भावना बढेको छ। कर्णालीलाई आफ्नै ब्राण्डका रूपमा स्थापित हुने अवसर पनि उपलब्ध हुनेछ। यसरी ब्राण्डिड तथा प्याकेजिड गरिएका कृषि उपजलाई कम्पनीले काठमाडौंँ उपत्यका ल्याएर आमउपभोक्तालाई बिक्री वितरण गर्ने योजना छ। यसबाट कृषकको उब्जनीको उपयोग हुनेछ भने उनीहरूले यसको राम्रो बजार भाउसमेत पाउने छन्। बजार नपाएर भौतारिएका कृषक अझ उत्साह तथा जोश जाँगरसहित आफ्नो कर्ममा सक्रिय हुने छन्। बढी कृषि उत्पादन गर्ने कृषकलाई थप प्रोत्साहन रकम उपलब्ध गराउने गाउँपालिकाको नीति आफँैमा सकारात्मक र उत्प्रेरक छ । 

यसअघि पनि खाद्य कम्पनीले सिमीजस्ता गेडागुडीको उपत्यकामा बजारीकरण गर्दै आएको हो तथापि यसमा व्यापकता थिएन। थोरै परिमाणमा हुने गथ्र्याे।। अबका दिनमा सबै पक्षको हितलाई ध्यानमा राखेर उल्लेखनीय परिणाममा कर्णालीका कृषि उपज आपूर्तिलाई दिगो तथा भरपर्दो बनाउने प्रयास भएको छ। यसको प्रत्यक्ष सकारात्मक प्रभाव कर्णालीको कृषि उत्पादनमा पर्ने विश्वास छ। यसका अतिरिक्त कृषकहरूलाई उब्जनी वृद्धिका निम्ति आवश्यक ज्ञान, प्रविधि तथा संसाधन जुटाइदिने कार्य पनि सम्भव तुल्याउन सकिए सुनमा सुवास थपिने थियो। कृषिको उपजको आपूर्ति सहज, निरन्तर तथा दिगोपूर्ण रूपमा अगाडि बढाउन सकिए कर्णालीको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान हुने सक्ने स्पष्ट छ।