• १३ असोज २०८१, आइतबार

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : सांसद

blog

सोमबारको प्रतिनिधिसभा बैठक । तस्बिर : रासस

काठमाडौं, भदौ १३ गते । प्रतिनिधिसभाका सांसदहरूले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ ।   

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भन्नुभयो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट वञ्चित भएका छन् त्यसको उचित व्यवस्थापन गर्नुपर्छ सरकारले ।”

सांसद डा. डिला सङ्ग्रौला पन्तले महिला प्रत्यक्ष निर्वाचन लड्न सक्षम भएको भन्दै राजनीतिक दलले महिलालाई निर्वाचनका लागि टिकटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद दिलकुमारीले नागरिकताका विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो । सांसद दीपक प्रकाश भट्टले शैक्षिक क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।   

सांसद नारायणप्रसाद खतिवडाले पासाङल्हामु राजमार्गलगायत मुलुकका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पार्वतीकुमारी विसङ्खेले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता तीन सय दिन तालाबन्दी भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले निर्वाचन घोषणा भइसकेपछि पनि संसद् सञ्चालन गर्न नहुने भन्दै संसद्को अन्त्य गरिनुपर्ने माग गर्नुभयो । सांसद डा. विजय सुब्बाले साझा प्रकाशनलाई व्यवस्थित गर्दै अगाडि बढाउनेबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा. पुष्पाकुमारी कर्ण कायस्थ, पार्वता डिसी चौधरी, नवराज सिलवाल, दलबहादुर राना, दिव्यमणि राजभण्डारीले महँगी र भष्टाचारलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।