• १७ असार २०८१, सोमबार

कर्णालीको उत्पादन काठमाडौँ ल्याइने

blog

काठमाडौँ, भदौ १३ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीको रैथाने उत्पादन खरिद गरी उपत्यकामा बिक्री गर्ने भएको छ । कर्णालीको स्थानीय रैथाने उत्पादन खरिद गर्न कम्पनीले हुम्लाको सिमकोट गाउँपालिकासँग सम्झौता गरेको छ । 

स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यसहित सम्झौता गरिएको हो । सिमकोट गाउँपालिकाले किसानले उत्पादन गरेको रैथाने उत्पादन (कोदो, फापर, भटमास, उवा, कागुनु) खरिद गर्नेछ भने गाउँपालिकाबाट खरिद गरेर खाद्य कम्पनीले उपत्यकामा ल्याई बिक्री वितरण गर्नेछ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले स्थानीय उत्पादन खरिद गर्न सिमकोट गाउँपालिकासँग सम्झौता गरिएको जानकारी दिनुभयो । 

“गाउँपालिकाले किसानबाट सामान खरिद गरेर जम्मा पार्ने र हामीले काठमाडौँमा ल्याएर वितरण गर्छौं,” उहाँले जानकारी दिनुभयो । चिसो ठाउँमा उत्पादन भएको अर्ग्यानिक र गुणस्तरीय उत्पादन बजारीकरण हुनुका साथै उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय उत्पादन खरिद गर्न पाउने उहाँले जानकारी दिनुभयो ।  

किसानले उत्पादन गरेको उत्पादनले बजार नपाएर खेर गइरहेको बेला कम्पनीले खरिद गरेर ल्याउने हुँदा स्थानीय उत्पादनको बजार पहुँच हुने उहाँले जानकारी दिनुभयो । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले गाउँपालिकाभरि उत्पादन भएको फापर, उवा, कागुनु, चिनो खरिद गर्न लागिएको जानकारी दिनुभयो । 

किसानको उत्पादन गाउँपालिकाले खरिद गर्दा किसान खेती गर्न आकर्षित हुने उहाँले जानकारी दिनुभयो । “स्थानीय उत्पादनले बजार नपाउँदा जग्गा बाँझै रहेका छन् । गाउँपालिकाले उत्पादन खरिद गर्दा किसानको उत्पादन खेर जाँदैन,” अध्यक्ष भण्डारीले भन्नुभयो । 

उत्पादन खरिद गर्न गाउँ कार्यपालिकाको बैठकबाट पास गरिसकेको र त्यसलाई ब्रान्डिङ, प्याकेजिङ गरेर खाद्य कम्पनीलाई दिने उहाँले जानकारी दिनुभयो । धेरै उत्पादन गर्ने किसानलाई सामानको मूल्यका साथै गाउँपालिकाले प्रतिकेजीमा पाँचदेखि १० रुपियाँ थप प्रोत्साहन रकम दिने पनि अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

पहिलो चरणमा सिमकोट गाउँपालिकाभित्र उत्पादित वस्तु खरिद गरिने र त्यसपछि क्रमिक रूपमा अन्य गाउँपालिकामा उत्पादन भएको सामान खरिद गरिने उहाँले जानकारी दिनुभयो । 

खाद्य कम्पनीले हुम्लासँगै कर्णालीका अन्य जिल्लामा भएका रैथाने उत्पादनलाई खरिद गरी बजारीकरण गर्न लागेको जनाएको छ । बजारलाई विविधीकरण गर्ने उद्देश्यसहित कम्पनीले स्थानीय उत्पादन खरिद गरी काठमाडाैँमा ल्याएर वितरण गर्न लागेको हो । 

कम्पनीले विगत तीन/चार वर्षदेखि कर्णालीको उत्पादन खरिद गरेर वितरण गर्दै आएको छ । कम्पनीले गत वर्ष एक लाख ८० हजार रुपियाँ बराबरको १२० मेट्रिक टन सिमी खरिद गरेर बिक्री गरेको थियो । 

खाद्य कम्पनीले जुम्लाको मार्सी चामल, सिमी वितरण गर्दै आएको छ । कम्पनीले कर्णालीमा सुपथ मूल्यमा चामल वितरण गर्ने र त्यहाँ उत्पादित सामान खरिद गरेर उपत्यकामा ल्याएर वितरण गर्दै आएको छ । 

   

लेखक बाट थप