• ११ पुस २०८१, बिहिबार

ओखर खेती लगाउने विधि सिक्दै

blog

तालिममा सहभागी प्राविधिकहरू व्यावहारिक ज्ञानका लागि ओखरको बोटमै पुगेर सिक्दै । तस्बिर: अमृत

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस ११ गते । मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरू ओखर खेतीसम्बन्धी प्रशिक्षणमा सहभागी भएका छन् । 

राज्यको तीनै तहका कृषि प्राविधिकहरू सहभागी रहेको उक्त तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक र सैद्धान्तिक कक्षा सञ्चालन हुनेछ । सङ्घीय, प्रदेश र स्थानीय तहका कृषि प्राविधिकहरूको सहभागिता रहेको उक्त तालिम बुधवारदेखि सुरु भएको र शुक्रवार सकिनेछ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा गरिएका ओखर खेतीका विविध प्रविधिहरू देखाउने र सिकाउने साथै ओखर उत्पादन प्रविधि र गुणस्तरीय बिरुवा उत्पादनका प्रविधिहरूका बारेमा कृषि प्राविधिकहरूलाई व्यावहारिक रूपमा सिकाउने मुख्य उद्देश्य रहेको आयोजक संस्था शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ । तालिमका संयोजक शीतोष्ण बागवानी विकास केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाका अनुसार तालिममा १७ जिल्लाका १८ जना प्राविधिकहरू सहभागी छन् । १५ जना पुरुष र तीन जना महिला प्राविधिकले तीन दिनसम्म मार्फा क्षेत्रमा ओखरको प्राविधिक पाटाहरूको अध्ययन गर्नुका साथै अभ्यास पनि गर्नेछन् । 

तालिममा मुस्ताङबाट २ जना र इलाम, धनकुटा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, तनहुँ, मनाङ, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, प्युठान, दैलेख, डोल्पा, बैतडी, दार्चुलाका एक एक जना सहभागी छन् । तालिममा सकेसम्म बढी व्यावहारिक ज्ञान दिने हिसाबले करिब ६० देखि ७० प्रतिशत व्यावहारिक र ३० देखि ४० प्रतिशत जति सैद्धान्तिक कक्षाहरू दिइने शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । ओखर खेती प्रविधि तालिममा सहभागीताका लागि अनलाइन दरखास्त आह्वान गरेको र अनलाइन माध्यमबाट एक सय एक जनाले फारम भरेकोमा १९ जना मुख्य र २ वैकल्पिक गरी कुल २१ जना सहभागीलाई छनाेट गरिएको आत्रेयको भनाइ छ । 

तालिममा ओखरको प्रसारण: सायन तथा रुट स्टक छनाेट र प्रसारण गर्ने प्रमुख विधिहरू सहभागीहरूलाई सिकाइने आयोजकले जनाएको छ । तालिममा टङ्ग ग्राफ्टिङ् र चिप वडिङ्, ओखरको फूल फुल्ने प्रक्रिया, तालिम तथा काँटछाँट, वाक्सिङ्, टप वर्किङ्, नेचुगी र ब्रिज ग्राफ्टिङ् विधिहरूको बारेमा व्यावहारिक रूपमा सिकाइनेछ ।

तालिममा नेपालमा ओखर खेतीको हालको अवस्था यसको महत्त्व, सम्भावना तथा चुनौतीहरू र उन्नत खेती प्रविधिबारे जानकारी गराइएको छ । त्यस्तै उपयुक्त हावापानी, माटो, जग्गा छनाेट, रेखाङ्कनका विधिहरू, खाडलको तयारी र रोपण, जग्गा छनाेट, बगैँचा व्यवस्थापन सिँचाइ, गोडमेल, मल्चिङ्, अन्तरबाली व्यवस्थापन,  भण्डारण तथा बजारीकरणको बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि प्रदान गरिएको थियो । 

ओखर खेतीको व्यावसायिक योजना र लाभ लागत अध्ययन विश्लेषण तथा व्यावसायिक ओखर खेती गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा पनि जानकारी गराइनेछ । ओखरको प्रसारण सायन तथा रुट स्टक छनाेट र प्रसारण गर्ने प्रमुख विधिहरू, गुणस्तरीय बिरुवा उत्पादनको लागि बीउको छनाेट, उपचार, रुट स्टक बिरुवा उत्पादन र नर्सरी व्यवस्थापनलगायतका विषयमा पनि तालिममा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।

फलफूलमा तन्तु प्रजनन विधि तथा ओखरमा यसको महत्त्व र नर्सरीमा भइरहेका विविध क्रियाकलापहरू बोड्रो मिश्रण र बोड्रो पेष्ट बनाउने तरिका र ओखरमा यसको प्रयोगका बारेमा पनि सिकाइनेछ । त्यस्तै ओखरमा लाग्ने मुख्य मुख्य रोगहरू र कीराहरू र तिनको व्यवस्थापनको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नेछ ।