• ११ पुस २०८१, बिहिबार

नमुना सदरमुकाम निर्माण स्थलका ६ सय ४२ रुख काट्न बाटो खुल्यो

blog

बोमलाल गिरी

नवलपुर, पुस ११ गते । नवलपुरको कावासोतीमा बन्ने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा रहेका रुख काट्न बाटो खुलेको छ । बुधवार बसेको मन्त्री परिषद्को बैठकले सदरमुकाम निर्माण स्थलमा रहेका ६ सय ४२ वटा ठुला रुख काट्न स्वीकृत प्रदान गरेको छ ।

रुख काट्नका लागि जिल्ला डिभिजन वन कार्यालयले स्वीकृति दिएर सात महिना पहिले फाइल अघि बढाएको थियो । लामो समयसम्म रुख कटान अनुमति नपाउँदा सदरमुकाम निर्माणका लागि टेन्डर भई ठेक्का लागेर पनि काम अघि बढ्न सकेको थिएन । अव लिखित आदेश आए लगत्तै टाँचा लगाई मुचुल्का लगाएर रुख काट्न सुरु गरिने जिल्ला डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिनुभयो ।

नवलपुरका क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विष्णुकुमार कार्कीले रुख हटाउन अनुमति मिलेसँगै अब नमुना सदरमुकाम निर्माणको काम पनि अघि बढ्ने बताउनुभयो । “रुख कटान गर्न मन्त्री परिषद्को बैठकले स्वीकृति दिएको  छ, अव निर्माणको काममा ढिलाइ हुँदैन,” सांसद कार्कीले भन्नुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख अधिकारीका अनुसार सदरमुकाम निर्माण स्थलमा ठुला पाँच सय ५२ र साना ९० गरी छ सय ४२ रूख रहेका छन् । कावासोती ३ मा रहेको ज्योति कुञ्ज सामुदायिक वनभित्र रहेको १८६ बिघा जग्गामा सरकारको नाममा रहेको छ । 

सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुई वटा एकीकृत भवन बनाउनका लागि रौतहटको चौधरी कन्स्ट्रक्सनलाई ठेक्का दिइसकेको छ । 

नमुना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल रङ्गशाला, १५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभा हल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् ।

प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुपियाँ रहेको छ । गत आर्थिक वर्षमा सदरमुकाम निर्माणका लागि ५० करोडको स्रोत सुनिश्चितता भएको थियो भने चालु आर्थिक वर्षमा सङ्घीय कार्यालय र पूर्वाधार निर्माणका लागि भनेर ८० करोड रुपियाँ विनियोजन भएको छ । विसं २०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गरेका थिए ।