• ११ असोज २०८१, शुक्रबार

सुविधासम्पन्न ब्याडमिन्टन हल निर्माण हुने

blog

मिक्वाखोला गाउँपालिका केन्द्र साँबामा निर्माण हुने ब्याडमिन्टन हलको शिलान्यास गरिँदै । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा जिल्लामै पहिलो ब्याडमिन्टन हल निर्माण हुने भएको छ । मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङमा सुविधा सम्पन्न ब्याडमिन्टन हल निर्माण हुने भएको हो ।

प्रदेश सरकार र गाउँपालिकाको समेत गरी कूल दुई करोड १४ लाख रुपियाँ बजेट जगानीमा निर्माण हुने ब्याडमिन्टन हलको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले शिलान्यास गर्नुभएको छ ।

पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार कुल बजेटमध्ये १ नं. प्रदेश सरकारको समपुरक बजेटअन्तर्गत एक करोड र गाउँपालिकाको एक करोड १४ लाख रुपियाँ रहेको छ । 

उक्त हाल निर्माण गर्ने जिम्मा पलाञ्चोक कन्स्ट्रकसन निर्माण कम्पनीले पाएको छ । ब्याडमिन्टन हलको शिलान्यास भएसँगै निर्माण कार्यले निरन्तरता पाउने स्वकीय सचिव थापाको भनाइ छ । तीन रोपनी क्षेत्रफल बराबरको जग्गामा सो हल निर्माण हुन लागेको हो ।

हल निर्माणका लागि जग्गा स्थानीय बेखबहादुर लिम्बू, नरमाया लिम्बू र शेरबहादुर थलङले निःशुल्क उपलब्ध गराउनुभएको गाउँपालिकाले जनाएको छ । यता नौ स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कुनैपनि पालिकामा ब्याडमिन्टन हल निर्र्माण गरिएका छैनन् । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामासमेत अहिलेसम्म सार्वजनिक ब्याडमिन्टन हल छैन ।

जिल्ला खेलकुद विकास समितिले पनि हालसम्म ब्याटमिन्टन लगायत खेलकुद गतिविधि सञ्चालन गर्ने हल, मैदान लगायतका संरचनाहरु निर्माण गर्न नसकेको जनाएको छ । सदरमुकाममा केही होटल तथा व्यक्तिले आफ्नो व्यक्तिगत लगानीमा अस्थायी प्रकृतिका ब्याडमिन्टन हल निर्माण गरेर खेल सञ्चालन गर्ने गरेका छन् ।