• २० मंसिर २०७९, मङ्गलबार

गिरी देशप्रति समर्पित नेता

blog

विना सङ्कल्प र दृष्टिकोणका लागि नवीन नेपाल निर्माण गर्नुपर्छ भन्ने विषयमा जनपक्षीय खाका र परिकल्पना निर्माण गर्न सदैव तल्लीन रहनुहुने श्रद्धेय प्रदीप गिरी अब हामीमाझ हुनुहुन्न । उहाँसँगका झन्डै चार दशकका यात्राका स्मृति मात्रै बाँकी छन् । उहाँले देखेका सपना र जीवन पद्धतिमा लागू गरेको आदर्श मूल्य र दूरदर्शी विचार मात्रै हामीमाझ छन् । उहाँले राजनीतिक रूपान्तरण र समाजको समग्र परिवर्तनका लागि गरेका दृढ सङ्कल्प अबको नयाँ राजनीतिक यात्राको पदचाप हुनसक्छ । उहाँले झन्डै चार वर्ष जेल जीवन बिताउनुभयो । प्रतिनिधि सभा र संविधान सभा सदस्य भएर जनतालाई केन्द्रमा राखेर राष्ट्रलाई जागरण प्रदान गर्ने कार्यका लागि गरेका कार्य इतिहाससँगै भावी पुस्ताका लागि प्रेरणापथ हुने नै छन् । यो आलेखमा श्रीमान्–श्रीमतीका रूपमा प्रदीपजीसँग बिताएका पल, उहाँका दीर्घकालीन योजना, मान्यता र आदर्श राजनीतिका मूल्यबारे केही विमर्श गर्नेछु ।

बाटो बदल्ने पहिलो भेट

समाजवादी चिन्तक, बौद्धिक व्यक्तित्व, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य गिरीको भदौ ४ गते निधन भयो । उहाँको निधनले हामीले श्रीमान्, बुवा, परिवारको अभिभावक गुमायौँ तर देशले एक दार्शनिक, एक युगको एक महामानव गुमायो, चिन्तन र चेतनाको प्रकाश फैलाउने एउटा दियो निभ्यो । उहाँसँगका पहिलो साक्षात्कारदेखि अन्तिम दिनसम्मको सदावहार यात्राको थालनी सन् १९८० मा भएको हो । प्रदीपजीसँग जनमत सङ्ग्रहको परिणामपछि सन् १९८० मा भेट भयो । पुतलीसडकमा ‘ब्रिफ्ली’ भेट्यौँ । विशेषगरी बौद्धिक विमर्शमै हाम्रो भेट केन्द्रित हुन्थ्यो । त्यतिबेला म ‘दी राइजिङ नेपाल’मा लेख लेख्ने गर्थें । मैले लेखेको लेखमाथि बहस हुन्थ्यो । प्रदीपजीमा अङ्ग्रेजी दार्शनिकबारे धेरै ज्ञान थियो । मलाई नेपाली साहित्य, कला, इतिहासको बारेमा ज्ञान थिएन । किनभने मैले अङ्ग्रेजी स्कुलमै पढेँ, अङ्ग्रेजी साहित्य र दर्शनमै अलि बढी अध्ययन गरेँ । 

हामीबीच दर्शनशास्त्र, साहित्य आदि विषयमा पनि कुरा हुन्थ्यो । त्यही कुराकानीकै क्रममा हामीबीच एकअर्काप्रति आकर्षण पनि भयो । हामी सँगै बस्न पनि थाल्यौँ । त्यो नेपाली समाजका निम्ति नौलो कुरा पनि थियो । त्यो सम्बन्धलाई पछि औपचारिक रूप दियौँ । उहाँले जहिले पनि मलाई “म एउटा असल पति होइन कि” भन्नुहुन्थ्यो । किनभने यो समाजले ‘असल पति’को उपाधि दिएर लैङ्गिक विभाजन र कामको विभाजनको रेखा कोरिदिएको छ । श्रीमान्ले कमाएर परिवार पाल्ने र श्रीमतीले घरको सबै काम गर्ने भन्ने दृष्टिकोण बनाइएको छ तर हामी त्यसको ठीक विपरीत थियौँ । म कमाउने, परिवारको आर्थिक व्यवस्थापन गर्ने गर्थें । प्रदीपजी चाहिँ तरकारीदेखि घरमा चाहिने सामग्री किनेर ल्याउने पकाउने गर्नुहुन्थ्यो । मलाई पकाउन पनि आउँदैनथ्यो । उहाँलाई मिठो–मिठो खान मन लाग्ने भएको हुनाले कसरी मिठो पकाउनुपर्छ भन्ने पनि थाहा थियो । त्यसलाई असल वा सफल के भन्ने आफैँ निर्धारण गर्ने कुरा हो । तथापि ती पल रमाइला र प्रेमिल थिए । हामीले समाजलाई नै चकित बनाएका थियौँ । यही सम्बन्ध, प्रेम र विश्वास उहाँको जीवनको अन्तिम दिनहरूमा अस्पताल बसाइका क्रममा पनि उत्तिकै थियो ।

अहिले राजनीतिमा मौलाएको चाकडी, चाप्लुसी र द्वैध चरित्रको प्रवृत्ति त्याग्ने प्रेरणा प्रदीपजीले दिनुभएको छ । उहाँको आदर्श अनुकरण गरे नवीन नेपाल निर्माणको सङ्कल्प पूरा गर्ने मार्ग खुल्छ । 

लैङ्गिक समानताको कुरामा प्रदीपजी र म प्रस्ट थियौँ । त्यहीकारण पनि हामीबीच विश्वास कायम भएको हुनुपर्छ । उहाँ “महिला बच्चा पाउने र घरको काम गर्ने साधन मात्रै होइन” भन्नेमा प्रस्ट हुनुहुन्थ्यो । महिला व्यक्ति हो, मानिस हो, त्यसैले पुरुषसरह व्यवहार गर्नुपर्छ र स्वतन्त्रता र समानताको पक्षमा दृढ भएर उभिनुपर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्थ्यो । 

सरल जीवनका धनी

प्रदीपजीको राजनीतिक जीवन सधैँ एउटै वेगमा चलिरह्यो । उहाँले कुनै पनि कुरा धेरै ‘सिरियसली’ लिएको जस्तो पनि लाग्दैनथ्यो । सधैँ देहातका नागरिक, पिछडिएको क्षेत्र र आममानिसको पक्षमा बोल्नुहुने उहाँले प्रतिनिधि सभा निर्वाचनमा पटक–पटक प्रतिस्पर्धा गर्नुभयो । उहाँ वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा विजयी हुनुभयो । अहिले पनि सञ्चार माध्यममा त्यतिबेलाको उहाँको सम्बोधन चर्चामै छ । आफ्नो जितलाई उहाँले अहङ्कारका रूपमा लिनुभएन । चुनावमा विजयी भएपछि उहाँले “मैले ल्याएको मतभन्दा मेरा प्रतिस्पर्धीको मत धेरै छ । नेकपा एमाले र अन्य उम्मेदवारको मत जोड्दा म पराजित हुन्छु । यो प्राविधिक जित मात्रै हो । यसमा धेरै घमण्ड गर्नुहुँदैन” भन्नुभएको थियो । 

उहाँले जहिले पनि मलाई “म एउटा असल पति होइन कि” भन्नुहुन्थ्यो । किनभने यो समाजले ‘असल पति’को उपाधि दिएर लैङ्गिक विभाजन र कामको विभाजनको रेखा कोरिदिएको छ । श्रीमान्ले कमाएर परिवार पाल्ने र श्रीमतीले घरको सबै काम गर्ने भन्ने दृष्टिकोण बनाइएको छ तर हामी त्यसको ठीक विपरीत थियौँ । 

यो उहाँको महान् पक्ष थियो । संसद्मा होस् वा सडकमा, उहाँले सदा जनताको पक्षमा आवाज उठाइरहनुभयो, लडिरहनुभयो । उहाँमा जनताकै लागि काम गर्ने व्यग्र इच्छा कहिल्यै डगमगाएन । उहाँले २०५६ को निर्वाचनमा सिरहा–५ मा उम्मेदवारी दिनुभएको थियो । उहाँले त्यो क्षेत्र र त्यहाँका नागरिकका लागि थुप्रै योजना बनाउनुभएको थियो तर १०५ मतले चुनाव हार्नुभयो । स्वाभाविक हो, उहाँमा पनि भावना थियो, मानवीय संवेदना थियो, उहाँले आफूले बनाएका योजना पूरा गर्ने चाहनाविपरीतको परिणाम आउँदा उहाँ रुनु पनि भयो । 

उहाँसँग भेट्दा म रेडियो नेपालमा काम गर्थें । रेडियो नेपालमा काम गर्ने क्रममा मैले राजनीतिक चेतनालाई फराकिलो बनाउने अवसर पाएँ । त्यतिबेला रेडियोका समाचारका शृङ्खला नेपालमा शान्ति, प्रगति र समृद्धिमा आधारित हुन्थे । ती विषयमा केन्द्रित रहेर तयार पारिएका समाचार मात्रै पढ्ने गरिन्थ्यो । त्यतिबेलाको सरकारी नारा नै शान्ति र समृद्धि थियो तर आधारभूत तहका नागरिकको सङ्घर्ष, असमानता र गरिबीको चरम उत्कर्ष समाचारका विषय बन्दैन थिए । यो सबै देखेर मैले मेरो हाकिमलाई “अरू ठाउँमा आधारभूत तहका नागरिकको समस्या, युद्ध, असमानता र गरिबीका मुद्दा उठान हुन्छ, नेपालमा चाहिँ किन शान्ति, प्रगति र समृद्धिकै मात्रै कुरा हुन्छ” भनेर सोध्थेँ । त्यतिबेला मेरा एक सहकर्मीले “त्यो जे लेखेको छ त्यही पढ, झिँगा टाँसिएको छ भने झिँगा पढ” भन्नुभयो । मेरो काकाले पनि “भारती तिमी यस्तो समाचार कसरी पढ्छौ, के तिम्रो पछाडि हतियार लिएर सुरक्षाकर्मी उभिएका हुन्छन् ?” भनेर प्रश्न गर्नुहुन्थ्यो । मैले “नुन खाएपछि नुनको सोझो गर्नुपर्छ” मात्रै भन्न सक्थेँ । 

त्यही दौरान प्रदीपजीसँग समाचारकै विषयवस्तुकै बारेमा हुने कुरा र बहसले पनि राजनीतिक चेतनालाई अझै बलियो बनाइदिन्थ्यो । वास्तवमा मैले राजनीतिलाई राम्रोसँग बुझ्ने मौका प्रदीपजीकै सत्संगबाट पाएँ । राजनीतिक चेतनाको विकासपछि बिस्तारै राजनीतिक बहस र कुराकानी हुन थाल्यो । त्यसपछि रेडियोबाट बिदा लिनुप¥यो । त्यसक्रममा किशुनजीले प्रश्न गर्नुहुन्थ्यो, “डियर भारतीजी तपार्इंले चाहिँ कहिले ‘लङ लिभ डेमोक्रेसी’ भनेर रेडियोबाट उद्घोष गर्नुहुन्छ ?” त्यहीक्रममा पञ्चायतको सेन्सरसीपबारे अझै बुझ्ने मौका मिल्यो । त्यतिबेला राज्यको गलत क्रियाकलापविरुद्ध भएका कुनै पनि विरोधका कुरा समाचारमा आउँदैनथ्यो । त्यसपछि प्रदीपजी र म सँगसँगै २०४६ को जनआन्दोलनमा अघि बढ्यौँ । उहाँको सान्निध्यमा एक सहयात्रीका रूपमा मेरो यात्रा अघि बढ्यो । 

प्रदीपजीले कोरेको गोरेटो

मलाई लाग्छ, प्रदीपजीका कुनै सपना अधुरा छैनन् । उहाँले बाटो देखाउनुभएको छ । उहाँले हामीलाई दिशाबोध गर्ने चेतना प्रदान गर्नुभएको छ । उहाँको मुख्य प्राथमिकतामा युवा पर्छन् । उहाँले कैयौँ मञ्चमा युवा अगाडि आउनुपर्छ, युवाले नेतृत्व गर्नुपर्छ भन्नुभएको छ । यो कुरा अहिले मात्रै होइन, बनारसमा हुँदा होस् या निर्वासनबाट फर्किएपछि होस्, उहाँ सधैँ युवालाई प्रशिक्षित गर्ने काममै लाग्नुभयो । समाजवाद, माक्र्सवाद, ब्राह्मणवाद के हो ? भन्ने कुरा उहाँले प्रशिक्षण दिने विषयवस्तु हुन्थे । सुदीप पाठक, कञ्चन झाजस्ता कैयौँ युवा उहाँबाट प्रशिक्षित हुनुभएको छ । देश बदल्न सक्ने सामथ्र्य केवल युवामै हुन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । त्यसैले हामी भन्नसक्छौँ– उहाँले हामीलाई अबको राजनीतिक गन्तव्य देखाएर बिदा लिनुभएको छ । मेडिसिटी अस्पतालमा बिदा लिएपछि नेपाली काँग्रेस पार्टी कार्यालय हुँदै पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि हुँदा धेरैजसो युवा नै आउनुभएको थियो । प्रदीप गिरी एकदम राम्रो मान्छे भनेर मात्रै युवा त्यहाँ जानुभएको होइन, उहाँका आदर्श र विचारकै पदचापलाई पछ्याइरहेकै युवा त्यहाँ पुग्नुभएको हो । राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणका मुद्दामा प्रदीपजीले उठान गर्नुभएका बहस, दिनुभएको आदर्श राजनीतिको बाटो र समाज बदल्नका लागि युवामा भर्नुभएको सपनाकै कारण उहाँहरू त्यहाँ पुग्नुभएको भन्ने मलाई लाग्छ । उहाँले देखाइदिनुभएको बाटोमा हिँड्ने प्रेरणा प्राप्त हुन्छ भन्ने नै मेरो बुझाइ हो । 

आश्रम र समानता

सिराहामा प्रदीपजीले आश्रम निर्माण गर्नुभएको छ । त्यहाँ दलित, सीमान्तकृत समुदायका नागरिक हुनुहुन्छ । विद्यार्थी पढ्नुहुन्छ । हामीले राजनीतिक रूपान्तरण गर्नुपर्छ । त्यसका लागि नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्छ । आश्रम एउटा निधि हो, उहाँको विचारको एउटा उदाहरण हो । त्यहीँबाट नयाँ राजनीतिक युगको थालनी गर्नुपर्छ । अहिले दुईवटा विषयबीच प्रतिस्पर्धा छ । सतहमा शक्ति, पैसा र निहित स्वार्थको राजनीति देखिएको छ । र, प्रदीपजीको आदर्श, मूल्य–मान्यता र जवाफदेही राजनीति दबिएको छ तर सत्य र न्यायको जित हुन्छ भनेझैँ उहाँको आदर्शवादी विचार फेरि फक्रिनेछ, पुष्पित र पल्लवित हुनेछ । राजनीतिक प्रवृत्ति अरूलाई दोष लगाउने छ । मेरो कारण होइन कि, अरूका कारण भन्ने छ । उहाँले हामी आफैँले आफैँलाई प्रश्न गरेर हेरेर मात्रै अघि बढ्नुपर्छ भन्ने दृष्टिकोण राख्नुहुन्थ्यो । नवीन नेपालको परिकल्पना के हो भन्ने कुरामा महिनौँ बहस गर्नुहुन्थ्यो । उहाँका दृष्टिकोणलाई अबको पुस्ताले आफ्नो जीवनशैलीमा लागू गर्नुपर्छ । 

संविधानका विषयमा प्रदीपजीका केही प्रश्न रहे । मधेशको माग र राज्य पुनर्संरचनाको विषयमा पनि विमति थियो । उहाँ आफू विश्वस्त भएको विषयमा प्रस्ट बोल्नुहुन्थ्यो । कसैलाई खुसी पार्नु थिएन उहाँलाई । इमानदार राजनीतिक संस्कार निर्माणको आधारशीला तयार गर्नुभयो । अहिले राजनीतिमा मौलाएको चाकडी, चाप्लुसी र द्वैध चरित्रको प्रवृत्ति त्याग्ने प्रेरणा प्रदीपजीले दिनुभएको छ । उहाँको आदर्श अनुकरण गरे नवीन नेपाल निर्माणको सङ्कल्प पूरा गर्ने मार्ग खुल्छ । उहाँका लागि सच्चा श्रद्धाञ्जलि पनि त्यही हुनेछ । 

अलबिदा प्रदीपजी !

(प्रदीप गिरीकी श्रीमती भारती सिलवाल गिरीसँग गोरखापत्रका अशोक अधिकारीले गर्नुभएको कुराकानीमा आधारित)


Author

भारती सिलवाल गिरी