• ६ जेठ २०८१, आइतबार

नेपाल­–बङ्गलादेश ऊर्जा सचिवस्तरीय बैठक

सुनकोसी–३ निर्माण गर्न संयुक्त कम्पनी खडा गर्ने सहमति

blog

काठमाडौँ, भदौ १० गते । नेपाल­–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको चौथो बैठक सम्पन्न भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुशीलचन्द्र तिवारी र बङ्गलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीबीच राजधानीमा बिहीबार बैठक बसेको थियो ।

यो बैठकमा बङ्गलादेशले लगानी गर्न चाहेको ६८३ मेगावाटको जलाशययुक्त सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको वित्तीय ‘मोडालिटी’समेत टुङ्ग्याउने कार्यसूची थियो तर सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गरेर आगामी बैठकमा वित्तीय ‘मोडालिटी’ टुङ्ग्याउने सहमति भएको छ । 

आयोजनाको हालसालै सम्पन्न विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनबारे बैठकमा छलफल भएको र सो प्रतिवेदन बङ्गलादेशलाई हस्तान्तरण गरिएको बैठकमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

“सुनकोसी तेस्रोबारे संयुक्त कार्यसमिति र निर्देशन समिति दुवैमा बृहत् छलफल भयो । बङ्गलादेश सरकारको लगानी रहने गरी बनाउन प्रस्ताव गरिएको सो आयोजनाको प्रतिवेदनबारे अध्ययन विमर्श गरी आगामी बैठकमा बङ्गलादेश पक्षले प्रस्ताव ल्याउनेछ र सोही बैठकले टुङ्ग्याउने सहमति जुटेको छ,” उहाँले भन्नुभयो । 

  • सुनकोसी तेस्रोको वित्तीय ‘मोडालिटी’ आगामी बैठक (छ महिना)मा टुङ्ग्याइने ।
  • विद्युत् व्यापार सम्झौता, ५० मेगावाटजति विद्युत् खरिदबारे निर्णय भएन ।
  • प्रसारण लाइनका लागि भारतसँग संवाद गरिने ।
  • अप्पर कर्णालीको पाँच सय मेगावाट विद्युत् खरिद सम्झौता एक महिनाभित्रै गरिने । 

सो आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी खडा गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुकुमार भेटवालले जानकारी दिनुभयो । यस्तो कम्पनी छ महिनाभित्र खडा गरिनेछ । घिसिङका अनुसार आगामी पाँचौँ चरणको बैठक अबको छ महिनामै हुने सम्भावना पनि छ ।

रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको बीचमा पर्ने लुभुघाटमा यो आयोजना बनाइनेछ । विद्युत् विकास विभागले गराएको सम्भाव्यता अध्ययनअनुसार १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ । आयोजनाको जलाशय ४५ किलोमिटरमाथिसम्म फैलिने भएकाले सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ । 

वार्षिक रूपमा दुई अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने यो आयोजनाको विद्युत्मध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ । मङ्गलबार बङ्गलादेशी प्रतिनिधिमण्डलले आयोजना क्षेत्रको स्थलगत अवलोकनसमेत गरेको थियो ।

नेपाल बङ्गलादेश विद्युत् व्यापार सम्झौता गर्ने अर्को एजेन्डा पनि भारतको भूमिकालाई मध्यनजर गर्दै अहिले सम्झौता गरिएन । नेपालको विद्युत् बङ्गलादेश पु¥याउन भारतीय प्रसारण लाइन प्रयोग नै हालका लागि उत्तम विकल्प हो । यसबाहेक अर्को प्रसारण लाइन निर्माण पनि विकल्पका रूपमा चर्चा हुँदै आएको छ तर दुवै विकल्पमा भारतसँगको सकारात्मक सहकार्य आवश्यक हुन्छ । भारतलाई साथ लिएर अगाडि बढ्ने निधो बैठकले गरेको छ ।

बिहीबारको बैठकले नेपाल र बङ्गलादेश दुवैले आआफ्ना संयन्त्रमार्पmत भारतसँग संवाद जारी राख्ने र त्रिपक्षीय बैठक गरी सहकार्य विस्तार गर्ने निर्णय पनि गरेको घिसिङले जानकारी दिनुभयो । बैठकको महत्त्वपूर्ण उपलब्धिका रूपमा नेपालबाट तत्काल करिब ५० मेगावाटजति विद्युत् बङ्गलादेशले खरिद गर्ने रहेको छ । यसका लागि बङ्गलादेशको भेडमारा पुग्ने भारतीय प्रसारण संरचना प्रयोग गरिने भएको छ । सो प्रसारण लाइनमा हाल करिब ५० मेगावाटसम्म विद्युत् थप प्रवाह गर्ने अवस्था रहेको र सोहीअनुसार यो निष्कर्ष निकालिएको हो । यसका लागि पनि नेपाल विद्युत् प्राधिकरण, भारतीय विद्युत् व्यापार कम्पनी (एनभीभीएन) र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड बैठक बसी टुङ्ग्याइनेछ ।  

बैठकमा प्रस्तावित जीएमआर अप्पर कर्णाली जलविद्युत् आयोजनको पाँच सय मेगावाट विद्युत् खरिदका लागि बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले एक महिनाभित्र विद्युत् खरिद बिक्री सम्झौता गर्ने प्रतिबद्धता जनाएको छ । जीएमआरलाई गत महिना मात्रै लगानी बोर्डले छ महिनाभित्र पीपीए गर्ने र त्यसको डेढ वर्षभित्र वित्तीय व्यवस्थापन टुङ्गो लगाउने समयसीमा दिएको थियो । 

जीएमआरले बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डसँग विद्युत् खरिद बिक्री सम्झौता अन्तिम चरणमा पु-याएको बताउँदै आएको थियो । जीएमआर अप्पर कर्णाली जलविद्युत् कम्पनीले प्रतियुनिट ७.७ सेन्टमा विद्युत् बेच्ने गरी प्रक्रिया अगाडि बढाइरहेको छ ।