• १३ साउन २०८१, आइतबार

विद्यालयमा कमसल स्यानेटरी प्याड वितरण

blog

विद्यालयमा वितरण गरिएका स्यानेटरी प्याड । तस्बिर : गोरखापत्र

सहदेव बस्नेत

जाजरकोट, भदौ ८ गते । स्थानीय  तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निशुल्क वितरण गरिने प्याड कमसल र गुणस्तरहिन वितरण गरेको पाइएको छ । नेपाल सरकारले स्थानीय तह मार्फत विद्यालयमा अध्ययनरत छात्राहरुका लागि प्रदान गर्ने प्याड गुणस्तरहिन भएको छात्राहरुले गुनासो गरेका छन् ।

साइज सानो, ब्लड नसोस्ने पाललो भएकोले प्याडले जुन कामका लागि दिईएको हो सो काम गर्न नसकेको छात्राहरुको गुनासो छ । त्रिभुवन मावि १० कक्षामा अध्ययनरत छात्रा विनु विकले विद्यालयमै वितरण गरिने प्याड कमसल खालको भएको बताउनु भयो । 

सोही विद्यालयकी शिक्षक रेखा शाहले पनि विद्यालय मार्फत प्रदान गरिएको निशुल्क प्याड गुणस्तरहिन भएको बताउनु भयो । विद्यालयमा निशुल्क प्याड दिनु निकै राम्रो कुरा हो, तर निशुल्कको नाममा झारा टार्ने काम राम्रो भएन शिक्षक शाहको भनाई छ ।

अघिल्लो वर्ष नगरपालिका आफैले टेण्डरमार्फत प्याड खरिद गरेको थियो । गत आर्थिक वर्षदेखि विद्यालय आफैले प्याड खरिद गर्न खातामा रकम निकासा गरिदिएको थियो । विद्यालयहरुले सप्लायर्स मार्फत प्याड खरिद गरी विद्यालयमा बुझाएका थिए ।

प्याडको गुणस्तर बारे धेरैलाई जानकारी नहुने भएकोले कुन कम्पनीको प्याडको गुणस्तर कस्तो हो ? धेरैको चासोमा पदैन । तर कतिपय विद्यालय र सप्लायर्सको मिलेमतोमा कमसल खालको प्याड वितरण भैरहेको पाईएको हो । 

नियमनकारी निकायले वेवास्ता गर्दा अधिकाँश विद्यालयमा कमसल खालको प्याड वितरण भैरहेको छ । त्रिभुवन माबिमा भवानी मेडिकल सप्लायर्स प्रालि नेपालगगञ्जले १२ हजार ९३७ थान प्याड ३५ रुपियाँ  ३९ पैसाका दरले भुक्तानी लिएको छ । त्रिभुवन मावि जस्तै धेरै विद्यालयमा यही सप्लायर्सले प्याड पठाएको छ । स्यानेटरी प्याड कमसल खालको भएको भन्दै छात्राहरुले विरोध गर्न थालेका छन् ।