• १५ असार २०८१, शनिबार

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा एक हजार खेलाडी

blog

तेक्वान्दो प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ ७ गते । पोखरामा असोज ६ देखि ९ गतेसम्म आयोजना हुन लागेको तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहने भएको छ । आयोजक नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न देशका एक हजार भन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिएको हो । 

प्रतियोगितामा यस वर्षदेखि माउन्ट एभरेष्ट जीसीएस इन्टरनेशनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसिप समेत समावेश गरिएको संघका अध्यक्ष प्रकाश शम्सेर राणाले बताउनुभयो । प्रतियोगितामा भाग लिन अमेरिका, अष्टेलिया, बेलायत, थाइल्यान्ड, हङकङ, दक्षिण एसियाली देशहरुबाट खेलाडी आउने प्राविधिक समितिका दीपक विष्टले जानकारी दिनुभयो । 

यसअघि संघले सन् २०११ र २०१४ मा दुई संस्करण काठमाडौंमा आयोजना गरेको थियो । कोरोना र विभिन्न प्राविधिक कारणले प्रतियोगिता समयमा गर्न नसकिएको संघले जनाएको छ । यस प्रतियोगितालाई विश्व तेक्वान्दो महासंघले स्वीकृत दिएको छ । 

यस प्रतियोगिता जी–२ स्तरीय भएको संघले जनाएको छ । प्रतियोगितामा विश्वभरका खेलाडी, निर्णायक, प्राविधिक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य, विश्व तेक्वान्दो महासंघका अध्यक्ष सहित पदाधिकारीको समेत सहभागिता रहनेछ । 

पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुने प्रतियोगिताको तयारी र ब्यवस्थापनका लागि १०१ सदस्यीय मूल आयोजक समिति, विभिन्न् १६ वटा उपसमिति समेत गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न दुई करोड ५५ लाख रुपियाँ लाग्ने प्रतियोगिता मूल आयोजक समितिका सचिव जगनबहादुर गुरुङले जानकारी दिनुभयो ।