• ६ साउन २०८१, आइतबार

सङघीयतामा वडा अध्यक्ष सबैभन्दा शक्तिशाली : मुख्यमन्त्री पाण्डे

blog

वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे । तस्बिर : सुजन काफ्ले

 सुजन काफले

  चरिकोट (दोलखा) भदौ ५ गते । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले सङघीयतापछि वडा अध्यक्ष सबै भन्दा शत्तिशाली रहेको बताउनुभएको छ । 

आर्थिक वर्ष ०७८÷०७९ मा संघीय तथा प्रदेश सरकार अन्तर्गतका कार्यालयहरु र स्थानीय तहहरुबाट संचालन भएका आयोजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै पाण्डेले सो कुरा बताउनुभएको हो । 

गाउँपालिका र वडा मिलेर नै प्रदेश बनेको बताउँदै उहाँले वडा अध्यक्षलाई प्रधानमन्त्रीको भन्दा धेरै अधिकार दिएकाले स्थानीय सरकार नै शक्तिशाली रहेको बताउनुभयो ।

स्थानीयहरुलाई सडक, बिजुलीको बिकासभन्दा पनि अप्ठ्यारोमा जनप्रतिनिधिको उपस्थिति नै महत्वपूर्ण हुने उहाँको भनाइ छ । 

कार्यक्रममा सम्बोधन गर्नुहुने जिल्लाका स्थानीय तहका प्रमुख तथा अध्यक्षले स्थानीय तहलाई प्रदेश सरकारले बेवास्ता गरेको गुनासो गरेपछि सो विषयमा उहाँले आफ्नो भनाइ व्यक्त गर्नुभएको हो । 

कार्यक्रममा बोल्नुहुँदै उहाँले दोलखामा छिटै नै भूसंरक्षणको कार्यालय स्थापना गर्ने र १३ वटै जिल्लामा कार्यालय खोलेर विभिन्न काम लिएर हेटौँडा जानुपर्ने बाध्यताको अन्त्य गर्ने तयारी रहेको बताउनु भयो । 

पशुपति चौलागाइ स्मृति अस्पताललाई ३२ वटा दरबन्दी स्वीकृति गरिसकेकाले केहिदिनभित्र नै विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी अस्पताल आइपुग्ने उहाँले बताउनुभयो ।

अस्पतालमा  डायलिस सेवा प्रदान गर्ने तयारी रहेको बताउँदै उहाँले सिटि स्क्यान मेसिनसमेत प्रदान गरिने योजना सुनाउनु भयो । 

मुख्यमन्त्री पाण्डले प्रदेशका सबै वडामा वडा समाजवादी कार्यक्रम छोरी छात्रवृत्ति कार्यक्रम, दलित छात्रवृत्ति कार्यक्रम, प्रदेशका १३ वटै अस्पतालबाट निःशुल्क डायलिस सेवा, रासायनिक मल र कृषि औजार कारखानाको स्थापना गर्नेलगायतका विभिन्न कार्यक्रम अघि छ भन्नुभयो । 

कार्यक्रममा संघीय सांसद पार्वत गुरुङ, बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्कालगायत स्थानीय तहका प्रमुखहरुले मन्तव्य राख्नु भएको थियो ।