• ६ साउन २०८१, आइतबार

मल किन्न थप सोह्र अर्ब

blog

सुरेशकुमार यादव

काठमाडौँ, भदौ ५ गते । अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि १६ अर्ब २० करोड रुपियाँ थप बजेट सुनिश्चित गरेको छ ।

कृषि मन्त्रालयको मागअनुसार अर्थ मन्त्रालयले रकम सुनिश्चित गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । रकमको सुनश्चित भइसकेपछि भारतबाट मल ल्याउनका लागि प्रचिङ अर्डर (पीओ) पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

भारतसँग भएको जीटुजी (सरकार–सरकारबीच) सम्झौताअनुसारको मल ल्याउन रकमको अभाव भएको भन्दै कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग साउनको पहिलो हप्ता रकम माग गरेको थियो । “पीओ (मलको परिमाण र गुणस्तरबारे जानकारी) पठाइसकेपछि उताबाट मूल्य निर्धारण गरेर आउँछ । त्यसपछि सो मूल्यमा मल खरिद गर्ने कि नगर्ने विषयमा छलफल गरी यताबाट निर्णय पठाएपछि मल खरिद प्रक्रिया सुरु हुन्छ,” उहाँले भन्नुभयो । 

सरकारले चालू आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न १५ अर्ब रुपियाँ विनियोजन गरेको थियो । उक्त रकमबाट मल खरिदका लागि ग्लोबल टेन्डर भइसकेको र त्यसमध्ये कतिपय मल आइसकेको उहाँले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले हालै सुनिश्चित गरेको रकमले जीटुजी र ग्लोबल टेन्डरमार्फत थप मल खरिद गर्ने उहाँले बताउनुभयो । 

मलको अभाव कायमै

धान रोपाइँमा आवश्यक पर्ने मल भारतबाट जीटुजी माध्यमबाट मल ल्याउने गरी सम्झौता भएको थियो । धान रोपाइँ सम्पन्न भइसके पनि अझै मल आउने सुनिश्चितता भएको छैन । 

धान गोड्ने बेलामा पनि मलको अभाव रहेको राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले बताउनुभयो । “अहिले पनि किसानले पर्याप्त मल पाइरहेका छैनन् । कृषि मन्त्रालय १५ अर्ब रुपियाँको मल वितरण गरिसकेको बताउँछ,” उहाँले भन्नुभयो । 

पर्याप्त मौज्दात रहेको दाबी

सरकारसँग पर्याप्त मल मौज्दात छैन । धानमा युरिया मल हाल्ने बेला भइसक्यो तर कृषि मन्त्रालयसँग हाल १६ हजार तीन सय मेट्रिक टन मल मात्र मौज्दात रहेको छ । 

कृषि सामग्री कम्पनीसँग आठ हजार ३२८ मेट्रिक टन युरिया, दुई हजार ४६१ मेट्रिक टन डीएपी र पाँच हजार ५२८ मेट्रिक टन पोटास मात्र मौज्दात रहेको छ । मलको मौज्दात नै कम रहेका कारण देशभर मल अभाव रहेको हो तर पनि कृषि सामग्री कम्पनीले हाल मलको अभाव नरहेको दाबी गरिरहेको छ । 

कम्पनीका अनुसार ३० हजार मेट्रिक टन मलमध्ये १८ हजार ८५० मेट्रिक टन आपूर्ति भइसकेको छ भने बाँकी एक हप्ताभित्र आइपुग्नेछ । त्यस्तै २० हजार मेट्रिक टन डीएपी मल कोलकाता बन्दरगाहसम्म आइपुगेको छ । त्यो पनि केही दिनभित्र आइपुग्ने कम्पनीले दाबी गरेको छ । 

किसान चिन्तित

पर्वतका किसानले मल नपाएको गुनासो गर्दै जिल्ला कृषि सामग्री केन्द्रसम्म पुगेका छन् । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान चिन्तित बनेका छन् । 

पर्वतको कृषि सामग्री केन्द्रले मागअनुसार मल कम्पनीबाट पाउन सकेको छैन । मागअनुसार मल नपाएका कारण किसानलाई पर्याप्त मल वितरण गर्न नसकेको केन्द्रका प्रमुख विपिनप्रसाद शर्माले बताउनुभयो । 

जिल्लामा बर्सेनि एक हजार टन युरिया र पाँच सय टन डीएपी मलको माग हुन्छ तर चालू वर्षको हालसम्म १८९ मेट्रिक टन युरिया र १२६ मेट्रिक टन डीएपी मात्रै प्राप्त भएको केन्द्रले जनाएको छ । 

केही दिन पहिले मल नपाएको भन्दै वीरगञ्जका किसानले मल लोड गरिएको ट्रक नियन्त्रणमा लिएका थिए । सहज रूपमा मल नपाएको भन्दै कृषि सामग्री कम्पनीको मधेश प्रदेश प्रादेशिक कार्यालयको गोदामबाट अन्य जिल्ला पठाउन लागिएको छ ट्रक मल किसानले नियन्त्रणमा लिएका थिए । कम्पनीले मल दिने प्रतिबद्धता जनाएपछि ट्रक छाडिएको थियो । 

यस्तो अवस्था देशैभरि रहेको छ । सरकारले मल खरिद गर्नका लागि बजेट वृद्धि गरिरहेको छ तर किसानको समस्या समाधान भइरहेको छैन । हालसम्म अर्थ मन्त्रालयले मल खरिद गर्नका लागि मात्र ३१ अर्ब २० करोड रुपियाँ दिइसकेको छ ।