• ६ साउन २०८१, आइतबार

निर्वाचनमा गोरखापत्रको भूमिका सराहनीय

blog

काठमाडौँ, भदौ २ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गोरखापत्र संस्थानको छाताभित्र व्यवस्थित र सङ्गठित भएर निर्वाचनलाई लक्षित गरेर सूचना सम्प्रेषण, प्रकाशन र वितरणमा पुर्‍याइएको योगदानको सराहना गर्नुभएको छ। उहाँले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन गोरखापत्र संस्थानको भूमिका महत्त्वपूर्ण  रहेको बताउनुभयो। 

प्रमुख आयुक्त थपलियासँग संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईसँग आयोगमा कुराकानी गर्दै प्रमुख आयुक्त थपलियाले उक्त विचार व्यक्त गर्नुभएको हो। उहाँले चुनावलाई सफल बनाउन संस्थानका प्रकाशनको योगदान अत्यन्तै महत्त्वपूर्ण  भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आयोगको मितव्ययी निर्वाचनको नारालाई आत्मसात् गरेर गोरखापत्रले सहयोग गरेकोमा धन्यवाद दिन्छौँ।”

उक्त अवसरमा महाप्रबन्धक ऐरीले आगामी चुनावलाई सफल बनाउन गोरखापत्र संस्थानअन्तर्गतका छवटा प्रकाशनले कसरी योगदान गर्न सक्छन् भन्ने सम्बन्धमा समन्वय गर्न संस्थान तयार रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “फरक फरक प्रकाशनको फरक फरक विशेषता छन्, मल्टिमिडियाको सन्दर्भमा हाम्रो मञ्च प्रयोग गरी चुनाव प्रचारप्रसारमा सदुपयोग गर्न सकिन्छ।” गोरखापत्र छाप्न प्रयोग हुने छापाखानाको उपयोगको निम्तिसमेत उहाँले प्रस्ताव गर्नुभयो। 

प्रधान सम्पादक भट्टराईले राज्यद्वारा सञ्चालित सञ्चार गृह भएकाले पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन संस्थानले निरन्तर सघाउँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा समेत गोरखापत्र दैनिकसहितका प्रकाशन र डिजिटल मञ्चको सदुपयोग गर्न समन्वय गर्न आग्रह गर्नुभयो।