• ६ साउन २०८१, आइतबार

बाजुराका १९ जना महिलाको नाकाबाट उद्धार

blog

कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जाँदै गरेका बाजुराका महिलालाई परामर्श दिईदै । तस्बिर : गोरखापत्र

शेरबहादुर सार्की

बाजुरा, भदौ १ गते । बाजुराका १९ जना महिलाहरुको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ । बाजुराको नौ वटै स्थानीय तहका  अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कम्जोर भएकोले उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन् ।

बाजुराका उन्नाइस जना महिलालाई भारतमा राम्रो काम लगाइ दिने प्रलोभन पार्दै दलालहरुले बिक्री गर्ने उद्देश्यले भारत लिदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह कैलाली र गड्डाचौकीले जनाएको छ ।

शान्ति  पुर्नस्थापना गृह शाखा कञ्चनपुर गड्डाचौकीका कर्याक्रम सयोजक सञ्चित सिहले, आर्थिक वर्ष २०७८ असार देखि २०७९ साउन सम्म बाजुराका महिलालाई त्रिनगर र गड्डाचौकी सिमानाकाबाट भारत तर्फ लगिरहेको अवस्थामा बाजुराका उन्नाइस जना महिलालाई उद्धार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बाजुराका उन्नाइस जना महिलालाई ललाई फकाइ गरेर भारतमा लैजाँदै  लागेको अवस्थामा शान्ति पुर्नस्थापना गहृले उद्धार गरेको हो ।’’  शान्ति पुर्नस्थापना गृहका अनुसार २०७८ सालको असार देखि २०७९ सालको साउन सम्म कैलालीको त्रिनगर नाकाबाट ७ र कञ्चनपुर गड्डाचौकी नाकाबाट १२ जना गरी १९ जना बाजुराका महिलाहरुको उद्धार गरिएको जनाएको छ । 

उद्धार गरिएका महिलामा घरको आर्थिक स्थिति निकै कम्जोर र एकल महिला रहेको शान्ति  पुर्नस्थापना गृहले जनाएको छ । बाजुराका नौ वटै पालिकाका स्थानीय कामको खोजीका लागि वर्षेनी भारतमा जाने गर्दछन् ।

यहाँका स्थानीयले हिउँदको चैत खेती र वर्खाको असार खेती लगाएर भारतमा जाने क्रम बाजुरामा पहिले देखि अहिले सम्म उस्तै छ । घरमा खान छोरा छोरीलाई स्कुलमा पठन पाठन गर्नकै लागि उनीहरु प्राय भारतमा जाने गरेको स्थानीय बताउँछन् ।

बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं –१० की नाम परिवर्तन (निर्मला नेपाली) ले गाउँमा राम्रो जग्गा जमिन नभएको र घरमा कसैको जागिर नभएकोले दैनिक गुजारा टार्न र छोरा छोरीलाई स्कुलमा पढाउन घरमा बालबालिका छोडेर पनि भारतमा जान बाध्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘रोजगारी लगाइ दिने प्रलोभनमा बाजुराका दर्जनौ महिला भारततमा बेचिन बाध्य भएका छन् । कयौ महिला बलात्कारको सिकार भएका छन् । रहरले नभई छोराछोरी पाल्ने र आफु पनि नोकरी गर्ने उद्देश्यले भारतको कोठी कोठीमा काम गरिरहेका अधिकाशं महिलाहरु बलात्कृत भएका छन् ।’’ 

कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएका ७ जनामा बाजुराको बडिमालिका नगरपालिका वडा नं १ का दुइ जना  त्रिवेणी नगरपालिका वडा नं ३ का एक जना खप्तड छेडेदह गाउँपालिका ५ र ७ का दुइ जना बूढीगङ्गा नगरपाकिला वडा नं ८ र ४ का दुइजना गरी सात जनाको कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको शान्ति  पुर्नस्थापना गृह शाखा कार्यालय कैलालीले जनाएको छ । 

शान्ति पुर्नस्थापना गृह शाखा कार्यालय कैलालीका प्रमुख निर्मला सिहले आर्थिक कम्जोर अवस्था तथा एकल महिलालाई भारतमा नौकरी लगाइदिने लोभ देखाएर भारतमा लैजाँदै गरेको क्रममा उद्धार गरेको बताउनुभयो । 

यसैगरी बडिमालिका नगरपालिका वडा नं १ र ६ को दुइ जना, स्वामिकार्ति खापर गाउँपालिका वडा १ को दुइ जना, खप्तड छेडेदह वडा नं ६ को दुई जना त्रिवेणी नगरपालिका वडा न. ५ को एक जना बूढीगङ्गा नगरपालिकाका वडा नं ३, ७ र ९ का पाँच गरी १२ जनाको उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह गड्डाचौकीले जनाएको छ । शान्ति पुर्नस्थापना गृह गड्डाचौकी प्रमुख सञ्जित सिहले उद्धार गरिएका महिलालाई प्रहरीको रोहवरमा अहिले उनीहरुको आफन्तको जिम्मा लगाएको बताउनुभयो ।