• ६ साउन २०८१, आइतबार

अध्यक्ष दाहालसँग डा. भट्टराई र यादवबीच भेटवार्ता

blog

नेताहरु क्रमशः नारायणकाजी श्रेष्ठ, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल र महेन्द्रराय यादव । तस्बिर : अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरणको फेसबुकबाट

काठमाडौं, साउन ३१ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवबीच छलफल भएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठसँग नेसपा अध्यक्षद्वय डा. भट्टराई र यादवबीच पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा मङ्गलबार दिउँसो छलफल भएको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै नेसपा अध्यक्ष डा. भट्टराईले बैठकमा बृहत अग्रगामी शक्तिको निर्माण एवम् देशलाई विकास र सुशासनको दिशातिर लिएर जानेसम्बन्धमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो दिशातिर उन्मुख हुने हिसाबले चुनावी तालमेललगायतका विषयमा छलफल गरेर टुङ्गो लगाएर जान्छौं ।” नेसपा सत्ता गठबन्धनभित्रै रहेको भन्नुहुँदै उहाँले यो पार्टी गठबन्धनकै अङ्ग भएको बताउनुभयो । उहाँले आगामी सङ्घीय निर्वाचनका लागि आवश्यक मापदण्ड बन्ने र यसभित्र रहेर छलफल गरिने चर्चा गर्नुभयो ।