• २७ वैशाख २०८१, बिहिबार

रातभरि नचाइने नीलवाराही नाच

blog

भक्तपुर, साउन ३१ गते । मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलवाराही नाच रातभरि नचाएको छ । बोडेमा राक्षसले दुःख दिएपछि नीलवाराही देवीले एक स्थानीय बासिन्दालाई नाच सिकाएर पठाएपछि वर्षौंदेखि सुरु भएको नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ ।

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म मध्यरातिबाट सुरु हुने नाच चार दिन चार रात बोडेका विभिन्न स्थानमा प्रदर्शन गरिने नाचगणका सदस्य भुवन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नाच नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलवाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिने बताउनुभयो । 

नाचमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगण नाच्ने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले बताउनुभयो । उहाँले नीलवाराही नाचको देवगणमा भैरव एक, द्वारपाल दुई तथा वाराही, कुमारी, गणेश र सिंह चार चार गरी १९ जनाको समूह हुन्छ । देवगणका नौ सहयोगी र वाद्यवादक गरी एक सय जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील हुने प्रस्ट पार्नुभयो । 

नाइके श्रेष्ठका अनुसार किंवदन्ती परापूर्वकालमा बोडेको उत्तरपूर्वी दिशाको जङ्गलमा रहेकी नीलवाराही देवीले मानिसको रूप धारण गरी बोडे सहरमा आएर स्थानीय धों जातका एक मानिसलाई जङ्गलमा लगेर चार दिनसम्म राखी सो नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएको र उनैले यो नाच सुरु गरेको हो । विभिन्न देवीदेवताको आकृतिको मुकुन्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर दैनिक १० देखि १४ घण्टासम्म नाच्नुपर्ने यो नाचका मान्यता कठिन रहेकोे श्रेष्ठले बताउनुभयो । नीलवाराही गुठी नै सञ्चालन गरी स्थानीयले नाचलाई जोगाउँदै आएका छन् ।