• १४ वैशाख २०८१, शुक्रबार

निर्वाचन सुरक्षा सेल गठन

blog

काठमाडौँ, साउन ३१ गते । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षा सेल गठन गरिएको छ । 

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनको सुरक्षा रणनीति र चुनौतीबारे छलफल गरी सेल गठन गर्ने र आवश्यक सुरक्षा रणनीति तय गर्ने निर्णयसमेत गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थापन, तयारी, सुरक्षा योजना र निर्वाचनको सुरक्षामा आवश्यक जनशक्ति परिचालन गर्नेबारे छलफल भएको छ । 

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, भयरहित रूपमा सम्पन्न गर्न बैठकले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा छ सदस्यीय केन्द्रीय कमान्ड पोस्ट गठन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा केन्द्रीय संयुक्त निर्वाचन सेल तथा गृह मन्त्रालय निर्वाचन सेल गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ । गृह मन्त्रालयले अनुगमन, नियमन र समन्वय गर्नेगरी सातवटै प्रदेशमातहतका सुरक्षा प्रमुख रहेको प्रदेश समन्वय तथा सम्पर्क सेल गठन गर्ने निर्णय सुरक्षा समितिको बैठकले गरेको छ ।

यसबाहेक प्रदेश तह निर्वाचनको सुरक्षा तयारी गर्न सातवटै प्रदेशका मुख्य सचिवको नेतृत्वमा प्रदेश कमान्ड पोस्ट तथा प्रदेश निर्वाचन सेल गठन गर्ने र जिल्लास्तरमा जिल्ला कमान्ड पोस्ट तथा जिल्ला निर्वाचन सेल गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयमा साङ्गठनिक आवश्यकताअनुसार निर्वाचन सेल बनाउन सक्नेगरी अधिकार दिने निर्णय गरेको छ । 

सुरक्षा समितिमा निर्वाचनविरोधी शक्ति नदेखिएकाले ठूलो सुरक्षा चुनौती नदेखिए पनि चुनावमा प्रतिस्पर्धा गर्ने दलहरूबीच विवाद बढ्न सक्ने र झडप हुन सक्ने आँकलन गरी त्यस अनुसार सुरक्षा रणनीति बनाउनेबारे समेत छलफल भएको छ ।