• ८ वैशाख २०८१, शनिबार

नागरिकता विधेयक फिर्ता पठाइएको विरोधमा चक्काजाम

blog

नागरिकता विधेयक फिर्ता पठाइएको बिरोधमा धनुषाको ढल्केवरमा गरिएको चक्काजाम । तस्बिरहरु: विजयकुमार साह

ढल्केबर, साउन ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा चक्काजाम गरिएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले राजमार्गमा करिब आधा घण्टा चक्काजाम गरेको हो । 

चक्काजाममा उत्रेका काँग्रेस कार्यकर्ताले ‘नागरिकता विधेयक छिटो प्रमाणीकरण गर, संविधानका धारा लागू गर’ जस्ता नारा लगाउँदै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग गर्दै चर्को नाराबाजी गरे । 

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता पाउन र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहितको नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । 

प्रमाणीकरणका लागि साउन १५ गते पठाइएको उक्त नागरिकता विधेयक राष्ट्रपति भण्डारीले १४ औं दिनपछि प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको छ ।  उक्त विधेयक सङ्घीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा फिर्ता पठाइएको छ । 

Author

विजयकुमार साह