• ४ वैशाख २०८१, मङ्गलबार

‘ल्यान्डफिल साइट’ व्यवस्थापन अन्योलमै

blog

सन्तोष सुवेदी

कास्की, साउन ३० गते ।  सरकार अङ्ग्रेजी नयाँ वर्षदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ। हाल विमानस्थलको ९८ प्रतिशत काम सकिएको बताइएको छ। यो विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन हुने भएको छ। विमानस्थल सञ्चालनको मिति तय भए पनि नजिकै रहेको ‘ल्यान्डफिल साइट’ अझै सारिएको छैन। 

पोखराको अहिलेको ल्यान्डफिल पोखरा–१४, बाछेबडुवामा छ। त्यहाँबाट चार किलोमिटरको दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल छ। ल्यान्डफिल्ड साइटमा चराचुरुङ्गी उड्ने भएकाले दुर्घटना हुनसक्ने भन्दै विमानस्थल आयोजनाले पटक–पटक महानगरलाई विकल्प खोज्न ताकेता गर्दै आएको भए पनि अझै व्यवस्थापन हुन सकेको छैन। चिनियाँ कम्पनीले पाँच वर्ष लगाएर विमानस्थल बनाउँदासमेत पोखराको ल्यान्डफिल साइट नसारिनु विडम्बना भएको सरोकारवाला बताउँछन्। 

पोखरा महानगरपालिकाले २०७७ साल साउनदेखि स्रोत अर्थात् भान्साबाटै फोहोर वर्गीकरण गर्ने अभियान चलाएको थियो। ‘छुट्टाऔँ फोहोर, बनाऔँ मोहोर’ नारासहित अभियान सञ्चालनमा ल्याइए पनि त्यो सफल भएन। कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्ने, कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न प्रेरित गर्ने र पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आम्दानी गर्ने लक्ष्य महानगरको थियो।

पोखरा महानगरले नयाँ ल्यान्डफिल साइट निर्माणका लागि बजेट व्यवस्थापन गरे पनि जग्गाको विवादले काम अघि नबढेको हो। पोखरा महानगरका तत्कालीन प्रमुख मानबहादुर जीसी नेतृत्वको कार्यपालिकाले गत वर्ष कात्तिकमा पोखरा १६ र २० को सिमाना पस्माराङमा ल्यान्डफिल साइट सार्ने निर्णय गरेको थियो। पानीको मूल रहेकाले स्थानीय विरोधमा उत्रिएपछि त्यहाँ ल्यान्डफिल बन्न सकेन। कार्यकाल सकिनुअघि कार्यपालिकाले पोखरा–३३, टिमुरपाटामा ल्यान्डफिल सार्ने निर्णय ग-यो। त्यसमा पनि विरोध जारी छ। 

जीसीको कार्यकाल सकिएर पाँच वर्षका लागि पोखरा महानगरको मेयरका लागि धनराज आचार्य आएपछि पहिलो कार्यपालिका बैठकले पनि पोखरा–३३ मा ल्यान्डफिल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। त्यसका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा काम गर्नलाई १० लाख रुपियाँ बजेट पनि छुट्याएको छ। प्रमुखमा निर्वाचित हुनुअघि आचार्यले सङ्घीय अर्थमन्त्रीलाई भेटेर बजेट माग्नुभएको थियो तर आगामी आर्थिक वर्षको बजेटमा ल्यान्डफिललाई बजेट समेटिएन। ल्यान्डफिल पोखरा–३३ मै बन्ने/नबन्ने निश्चित छैन। 

ल्यान्डफिल कहाँ बनाउने भन्ने अन्योलबीच पोखरा महानगरपालिकाको एउटा टोली केही दिनअघि धरान पुगेर फोहोरबाट ग्यास निकाल्ने प्रविधिबारे जानकारी लिएका छन्। धरान पुगेको टोलीले त्यहाँ प्रयोग भएको प्रविधि, त्यसका फाइदाबारे अध्ययन गरेको हो। महानगरको सरसफाइ शाखा प्रमुख कल्पना बराल, पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बराल, पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीसहित पाँच जनाको टोली धरान पुगेको थियो। महानगर सरसफाइ शाखा प्रमुख कल्पना बरालले धरान पुगेर अध्ययन गरेर आएको जानकारी दिनुभयो। उहाँले यहाँको फोहोर व्यवस्थापन कसरी र के गर्ने बारे छलफल गरिने बताउनुभयो। 

‘‘धरानमा फोहोर व्यवस्थापन अत्यन्त राम्रो रहेछ। हामीले पनि सिक्ने अवसर पाइयो। कुहिने फोहोरबाट ग्यास निकालेर टेम्पोमा प्रयोग गरिएको रहेछ। त्यो अरू सवारीमा पनि प्रयोग गर्न मिल्छ,” बरालले भन्नुभयो। धरानमा फोहोर बाहिर कतै फाल्नुपर्ने अवस्था नरहेको उहाँले सुनाउनुभयो। “काम अत्यन्त राम्रो लाग्यो। पोखरामा पनि ढिलो चाँडो व्यवस्थापन हुनेछ। ल्यान्डफिल साइटका बारेमा पनि जहाज उड्ने बेलासम्म फोहोर समस्या हल हुनेछ,” उहाँले भन्नुभयो। 

पोखरामा दैनिक एक सय ८५ टन हाराहारी फोहोर जम्मा हुन्छ। महानगरको सरसफाइ शाखाका अनुसार त्यसमा ७० प्रतिशत कुहिने फोहोर हुन्छ। पोखराको दुई सय रोपनी क्षेत्रफलको डम्पिङ साइटमा ८० रोपनीमा फोहोर जम्मा गरिन्छ। बाँकी जमिनमा ट्रिटमेन्ट प्लान्ट, सेनेटरी र सडक छ। 

दुई प्रतिशत काम अझै बाँकी रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बनेको हो। विमानस्थलको टर्मिनल भवन, पेरिफेरी रोड, रनवे, २५ मिटर ह्याङ्गर, ट्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटीआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङ गर्न सकिने संरचना बनिसकेका छन्। विमानस्थल आयोजका प्रमुख विनेश मुनकर्मीका अनुसार उडान हुने पुस १७ अगावै सम्पूर्ण काम सकिनेछ। 

विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगे पनि आर्मी ब्यारेक र आयल निगम डिपो कहिले बन्ने भन्ने टुङ्गो छैन। रिठेपानी डाँडा कटान र पोखरा–१४ मै रहेको ल्यान्डफिल साइट विमानस्थल सञ्चालनका प्रमुख समस्या भएको स्थानीयको भनाइ छ।