• ७ मंसिर २०८१, शुक्रबार

एसईईको नतिजा : पहिले शून्य पुनर्योगमा ८०

blog

भक्तपुर, साउन ३० गते । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुँदा एक परीक्षार्थीले गणितमा शून्य अङ्क पाए । ती परीक्षार्थीले आफूले प्राप्त गरेको नतिजाप्रति चित्त बुझाएनन् र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गई पुनर्योगका लागि आवेदन दिए ।

पुनर्योगका लागि पोकाबाट उनको उत्तरपुस्तिका झिक्दा पनिकाका कर्मचारी नै झस्किए । कारण ती परीक्षार्थीले वास्तवमा ८० अङ्क पाएका थिए तर अङ्क चढाउँदा अगाडिको अङ्क नै छुट्याइएको रहेछ । धन्न ती परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएकाले उनको नतिजा ‘ई’बाट ए ग्रेडमा परिवर्तन हुन सक्यो ।

एसईईमा प्राप्त गरेको नतिजाप्रति चित्त नबुझाएका परीक्षार्थीले आइतबारसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएकोमा सानोठिमीमा दुई हजार ६७१ जनाको आवेदन परेको छ । पुनर्याेगका लागि परीक्षार्थीले सम्बन्धित जिल्लामै आवेदन दिन पाउने व्यवस्था भएकाले त्यहाँ करिब एक हजार आवेदन परेको हुन सक्ने अनुमान पनिकाको छ ।

आवेदन दिएका परीक्षार्थीको उत्तरपुस्तिका पुनर्योग गर्ने कार्य पनि धमाधम थालिएको छ । पनिकाले हालसम्म ६८४ वटा उत्तरपुस्तिकाको अङ्क परिवर्तन भएको जनाएको छ । पुनर्योगपछि सरदर तीनदेखि सात अङ्कसम्म बढेको पाइएको छ । कुनै–कुनै परीक्षार्थीले तीनदेखि चारवटा विषयमा समेत पुनर्योगका लागि आवेदन दिएका छन् । 

कतिपय परीक्षार्थीको अङ्क बढे पनि ग्रेड वृद्धि भएको छैन भने कतिपयको एक अङ्क बढ्दा ग्रेड वृद्धि भएको अवस्था छ । पनिकाका अनुसार अनिवार्य गणितमा ३०, विज्ञानमा १५ र ऐच्छिक गणितमा ११ जनाको ग्रेड वृद्धि भएको छ ।

पुनर्योगका लागि आवेदन परेपछि उत्तरपुस्तिका खोतल्दा कतिपयको चकित पार्ने नतिजा देखिएको छ । सुरुमा ७१ अङ्क पाएकाको पुनर्योगपछि ८६, चार अङ्क प्राप्त गरेकोको पछि ४०, ३६ अङ्क प्राप्त गरेकाको पछि ८८, ८६ अङ्क प्राप्त गरेकाको ९३, ४० अङ्क प्राप्त गरेकाको ६६ अङ्क परिवर्तन भएर आएको छ । ‘ई’ ग्रेड प्राप्त गर्नेले पुनर्योगपछि ‘ए,’ ‘बी’ ग्रेड प्राप्त गरेकाले ‘ए प्लस’, ‘सी’ ग्रेड प्राप्त गरेकाले ‘ए प्लस’ आदि ग्रेडमा उक्लिएका छन् ।

उपपरीक्षा नियन्त्रक भक्तबहादुर गोदारले गणित विषयका परीक्षकले समेत अङ्क जोड्दा गल्ती गरेको बताउँदै भन्नुभयो, “परीक्षकको लापरबाही देखिएको छ । सबैभन्दा बढी अङ्क उतार गर्दा र गणनामा त्रुटि देखिएको छ ।” 

विशेष गरी परीक्षकले हतार–हतार गरी बढीभन्दा बढी उत्तरपुस्तिका परीक्षण गर्दा यस्ता त्रुटि हुने गरेको छ । यसलाई पनिकाले भने प्राविधिक त्रुटि भनेको छ । परीक्षकको लापरबाहीका कारण सयौँ परीक्षार्थीको नतिजा गडबड हुन सक्ने देखिन्छ । यसले गर्दा नतिजाप्रति चित्त बुझाएर पुनर्योगका लागि आवेदन नदिएका परीक्षार्थी अन्यायमा परेका छन् ।  

उहाँले उत्तरपुस्तिकामा दिइएको अङ्क प्रविष्टि गर्दा पनि त्रुटि भएको जानकारी दिनुभयो । पनिकाले खटाएका शिक्षा सेवाका कर्मचारीबाट प्रविष्टि गर्ने कार्य गरिन्छ । प्रतिउत्तरपुस्तिका प्रविष्टिका लागि २० पैसा उपलब्ध गराउने गरिएको छ । जबकि कक्षा १२ को प्रविष्ट गर्ने जनशक्तिलाई प्रतिविषय पाँच पैसा उपलब्ध गराइन्छ । थोरै रकम भएकाले बढीभन्दा बढी उत्तरपुस्तिकाको अङ्क छिटो–छिटो प्रविष्टि गर्न खोज्दा कर्मचारीबाट त्रुटि हुने गरेको पाइएको छ । उत्तरपुस्तिका परीक्षणमा लापरबाही नयाँ रोग होइन । २०६९ सालमा गठित अध्ययन समितिले त्रुटिलाई कम गर्न दण्डको व्यवस्था गर्नुपर्ने सिफारिस गरेको थियो । सो सिफारिस थन्किएको अवस्था छ ।