• १६ चैत २०८०, शुक्रबार

महिलाको नाममा उद्योग दर्ता गराउने क्रम बढ्यो

blog

काभ्रेपलाञ्चोक समाचारदाता

काभ्रेपलाञ्चोक, साउन २९ गते । पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लामा महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कअनुसार महिलाको नाममा उद्योग, व्यवसाय दर्ता गर्दा ५० प्रतिशत राजस्व छुट दिएपछि महिलाको नाममा उद्योग दर्ता गराउनेको सङ्ख्या बढेको हो । 

घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख मदन बजगाईंले आव २०७८/७९ मा जिल्लामा उद्योगतर्फ व्यक्तिगत फर्म एक हजार ४९३ वटा, साझेदारी फर्म ४० वटा र प्राइभेट लिमिटेड ४२ वटा उद्योग दर्ता भएको बताउनुभयो । ती भएका उद्योगको स्थिर पुँजी दुई अर्ब ५९ करोड ३९ लाख २८ हजार रुपियाँ र चालू पुँजी एक अर्ब ७४ करोड ७४ लाख पाँच हजार रुपियाँ रहेको छ । एक वर्षको अवधिमा कार्यालयमा दर्ता भएका व्यक्तिगत फर्म, साझेदारी र प्रालि फर्ममा गरी एक हजार ४८ जना महिला र ५५६ जना पुरुष उद्यमी रहेका छन् । दर्ता भएका उद्योगमा तीन हजार ४०६ जना महिला र दुई हजार ९५० महिलाले रोजगार पाउने घरेलु् तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

यसैगरी गत आर्थिक वर्ष यस जिल्लामा वाणिज्यतर्फ ६१० वटा व्यवसाय दर्ता, ७४७ वटाको नवीकरण, १२६ को संशोधन, ४९ वटा खारेजी र ११६ वटा व्यवसायको नामसारी, ठाउँसारी गरिएको छ ।  हालसम्म जिल्लामा उद्योगतर्फ व्यक्तिगत उद्योग १३ हजार १५६ वटा, साझेदारी उद्योग चार हजार ९०८ वटा उद्योग तथा वाणिज्यतर्फ व्यक्तिगत व्यवसाय छ हजार ६८१ वटा र साझेदारी व्यवसाय १३७ वटा दर्ता भएका छन् । कार्यालयले गत आर्थिक वर्ष दुई करोड ७५ लाख तीन हजार ८५० रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।