• १२ वैशाख २०८१, बुधबार

एक हप्ताभित्र विवरण बुझाउन निर्देशन

blog

काठमाडौँ, साउन २९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक हप्ताभित्र विवरण बुझाउन निर्देशन दिनुभएको छ । 

शनिबार राजधानीमा आयोजित कम्पनीको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बडूले एक हप्ताभित्र काठमाडौँ उपत्यकामा रहेका तत्कालीन नेसनल टे«डिङ लिमिटेड (कम्पनीमा गाभिएको)को सम्पत्ति र भाडा आम्दानीबारे प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको हो । “रामशाह पथमा रहेको गोदाममा कति सामान छ, त्यसको अवस्था के छ, स्थानीय सरकार र प्रहरी राखेर अभिलेख तयार गर्नुहोस्,” मन्त्री बडूले निर्देशन दिनुभयो ।

नेसनल टे«डिङ गाभिँदाको भार कम्पनीले सम्हाल्न नसकेको र कम्पनी ऐनको उद्देश्यअनुसार काम हुन नसकेकामा मन्त्री बडूले असन्तुष्टि व्यक्त गर्नुभयो । तीन वर्षअघि नेपाल खाद्य संस्थान र नेसनल टे«डिङ लिमिटेड गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना भएको थियो ।    

“एक महिनाभित्र मुलुक भर कति सम्पत्ति छ, कति भाडा उठिरहेको छ, कसले प्रयोग गरिरहेको छ, कम्पनीले किन आफ्नो स्वामित्वमा ल्याउन सकेन, कानुनी समस्या के छ त्यसको जानकारी चाहियो,” मन्त्री बडूले भन्नुभयो । कर्मचारीले इमानदारी, पारदर्शी ढङ्गले जिम्मेवारी भएर काम गर्न आग्रह गर्दै आवश्यक परे मन्त्रालयले सहजीकरण गर्ने उहाँले स्पष्ट पार्नुभयो । 

“खाद्य सुरक्षाको दायित्व कम्पनीको हातमा छ, दुर्गम, पहाडी जिल्लामा खाद्यान्न पु-याएर, स्थानीय सरकारसँग समन्वय गरेर, त्यहाँ हुने उत्पादन खरिद गरेर बजारीकरण गर्नुपर्छ,” उहाँले जोड दिनुभयो । स्थानीय उत्पादन खरिद गर्दा किसानले उचित मूल्य पाउने र कम्पनीको व्यापार विविधीकरण चर्चा गर्दै मन्त्री बडूले कर्मचारी र व्यवस्थापन एक अर्काको सहयोगी भएर काम गर्न निर्देशन दिनुभयो । 

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेले कम्पनीको व्यावसायिक कार्ययोजना र कार्यसम्पादन सम्झौता बनाउन भनेको आठ महिना बितिसक्दा पनि अझै तयार नभएकामा असन्तुष्टि व्यक्त गर्नुभयो । 

“कम्पनीको उद्देश्य खाद्य सुरक्षा कायम गर्ने, बजार मूल्य हस्तक्षेप गर्ने र उपभोक्तालाई सस्तोमा खाद्यान्न उपलबध गराउनु हो । कम्पनीले वितरण गर्ने सामानको गुणस्तरमा प्रश्न चिह्न उठेकाले यसतर्फ ध्यान जान जरुरी छ,” सचिव पाण्डेले भन्नुभयो । कम्पनीको हितमा, पारदर्शी र उत्तरदायी भएर काम गर्न कर्मचारीलाई आग्रह गर्दै सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष पाण्डेले कम्पनीका समस्या लिएर आए सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।  

कम्पनीले सम्पत्तिको अभिलेख राख्न नसकेको र स्थापना भएको तीन वर्ष बितिसक्दा पनि साधारण सभा गर्न नसकेकोप्रति सचिव पाण्डेले गुनासो गर्नुभयो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन नियमित रूपमा ढुवानी गरिरहेको बताउनुभयो । दार्चुला, पूर्वी रुकुमलगायतका जिल्लामा डिपो विस्तार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

चाडपर्वका बेला उपभोक्तालाई छुट दिएको एक अर्ब ४२ करोड रुपियाँ शोधभर्ना नहुँदा कम्पनी घाटामा गएको उहाँले बताउनुभयो । यस्तो रकम चार/पाँच वर्षको बाँकी रहेको कम्पनीले जनाएको छ । 

खाद्य कम्पनी राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष माधव अर्यालले नेसनल टे«डिङको मुलुकभर रहेको जग्गा, गोदामघर विभिन्न निकायले कब्जा गरेकाले कम्पनीको स्वामित्वमा ल्याउन कठिन भएको बताउनुभयो ।