• १३ वैशाख २०८१, बिहिबार

बास नपाएर परीक्षार्थी अलपत्र

blog

नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखा कार्यालयमा बास बसेका परीक्षार्थी । तस्बिर सौजन्य : पदम जोशी

काठमाडौँ, साउन २९ गते । निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षामा सहभागी हुन सर्लाही आइपुगेका परीक्षार्थीले बास नपाएर कष्टसाथ रात बिताउनुप-यो। शिक्षक सेवा आयोगले शनिबार सञ्चालन गरेको परीक्षामा सम्मिलित हुन विभिन्न जिल्लाबाट शुक्रबार परीक्षार्थी हरिवन पुगेका थिए। भएजति होटल परीक्षार्थीले भरिभराउ भए। आउनेक्रम थपिँदै जाँदा होटल नपाएपछि थुप्रै परीक्षार्थी शुक्रबार राति १० बजेसम्म सडकमै अलपत्र परे।

हरिवनस्थित महादेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जयशङ्कर सिंहले परीक्षार्थीले सबैतिर चहार्दा पनि बास नपाएपछि आफूहरूले राति अबेर विद्यालयमा ल्याएर सुताउनुपरेको बताउनुभयो। उहाँले भन्नुभयो, “कतिपयका त काखे बच्चा पनि थिए। ४० जनालाई बालविकास भवनको दुई कोठामा बल्लतल्ल व्यवस्थापन ग-यौँ। परीक्षा केन्द्र तोक्ने मामिलामा आयोगको व्यवस्थापन कमजोर देखियो।”

वर्षाका कारण तोकिएका परीक्षा केन्द्रसम्म अघिल्लो दिन आइपुग्न समस्या भोगेका परीक्षार्थीले एकरात बासका लागि कोठा पाउन निकै समस्या भोग्नुप-यो। यसले गर्दा परीक्षार्थीले निकै तनावसाथ परीक्षामा सम्मिलित हुनुप-यो।

चितवनबाट तनहुँ पुग्नुभएकी सुनिता शर्मा रेग्मीले होटल नपाइने डरले रक्षाबन्धन पनि नबाँधी झिसमिसेमा तनहुँ जानुपरेको गुनासो गर्दै भन्नुभयो, “बल्लतल्ल होटलमा कोठा फेलाप-यो तर कतिपयले मर्मत हुँदै गरेका कोठामा टेबुलमा सुतेर रात बिताएको देखियो।” 

सम्बन्धित जिल्लाबाटै परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था हटाउँदै गर्दै शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७४÷७५ देखि तोकिएको परीक्षा केन्द्रबाट मात्र परीक्षामा सम्मिलित हुन पाउने नियम कार्यान्वयनमा ल्याएको छ। हरेक प्रदेशमा कम्तीमा दुई जिल्लामा परीक्षा केन्द्र कायम गरिएको छ। सुरुमा आवेदन फाराम भर्नेको परीक्षा केन्द्र प्रदेश राजधानीमा कायम गरिएको थियो भने ढिलो गरी फाराम भर्नेको अन्य जिल्लामा।

बर्दियाको शिक्षा विकास तथा समन्वय एकाइ (साबिकको जिल्ला शिक्षा कार्यालय)का प्रमुख रेबिका अमात्यले रातिसम्म बाटोमा हिँडिरहेकालाई सोध्दै बास व्यवस्थापन गर्नुपरेको र कतिपयलाई व्यक्तिगत घरमा पनि व्यवस्थापन गरिदिएको बताउनुभयो।  “बर्दियामा सल्यान, रोल्पा, जुम्ला, दैलेखका पनि परीक्षार्थी आएका थिए।”

टाढा–टाढाका विद्यार्थी परीक्षा केन्द्रसम्म जाँदा समयका साथै खर्च पनि उत्तिकै हुने गरेको छ। लुम्बिनीका प्रदेश शिक्षा निर्देशक मनोज गैरेले दाङको घोराहीमा करिब सात हजारले परीक्षा दिएको र तिनका लागि पुग्ने होटल त्यहाँ नरहेको बताउँदै भन्नुभयो, “गुल्मीका परीक्षार्थी बर्दियामा, बर्दियाका परासीमा गएर परीक्षा दिनुपरेको छ। शिक्षक सेवा आयोगले पूर्वयोजना नगर्दा परीक्षार्थीले सास्ती भोग्नुपरेको हो।” आयोगका अनुसार शनिबार सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दुई लाख तीन हजार १३४ जनाले आवेदन फाराम भरेका थिए। उनीहरूलाई अनलाइनबाट आवेदन फाराम भर्न र प्रदेश छनोट गर्न पाउने सुविधा दिइएको थियो।

जनकपुरमा परीक्षा दिन पुगेका कतिपयले मन्दिरको बरन्डामा समेत रात गुजार्नुप-यो। शनिबार बिहान अनिदो अवस्थामा परीक्षा केन्द्र खोज्दा परीक्षार्थीले थप सास्ती भोग्नुपरेको थियो। कतिपय जिल्लामा नेपाल पत्रकार महासङ्घ र जिल्ला उद्योग वाणिज्य सङ्घले बसोवासको समन्वय गरिदिएका पनि थिए। लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं जनज्योति बहुमुखी क्याम्पस परीक्षा केन्द्रका केन्द्राध्यक्ष वासुदेव तिमल्सिनाले केहीलाई होटलका बरन्डामा समेत व्यवस्थापन गर्नुपरेको बताउनुभयो।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले परीक्षार्थी अलपत्र परेपछि नगरपालिका भवनमा रहेको हलमा बस्ने व्यवस्था मिलाइएको बताउनुभयो। शिक्षक सेवा आयोगले प्रदेश १ मा झापा, मोरङ र सुनसरीमा, मधेश प्रदेशमा सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र पर्सामा, बागमती प्रदेशमा मकवानपुर, काठमाडौँ, ललितपुर र भक्तपुरमा, गण्डकी प्रदेशमा तनहुँ र कास्कीमा, लुम्बिनी प्रदेशमा नवलपरासीपश्चिम, कपिलवस्तु, रुपन्देही र दाङमा, कर्णाली प्रदेशमा सुर्खेत, बाँके र बर्दियामा तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेल्धुरामा परीक्षा केन्द्र कायम गरेको थियो।

सन्धिखर्क नगरपालिका–१ बाट परीक्षामा सम्मिलित हुन कपिलवस्तु आउनुभएकी कल्पना भुसालले सानो कोठामा नौ जनाले रात बिताउनुपरेको गुनासो गर्दै भन्नुभयो, “जुन जिल्लाबाट लाइसेन्सका लागि आवेदन फाराम भरिन्छ, त्यहीँबाट परीक्षामा सहभागी हुने व्यवस्था भइदिए सास्ती भोग्नुपर्ने थिएन।”

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले शिक्षा विकास तथा समन्वय एकाइसँगको समन्वयमा परीक्षा केन्द्र कायम गरिएको भन्दै थप्नुभयो, “देशका ७७ वटै जिल्लाबाट परीक्षा सञ्चालन गर्नुपर्दा व्यवस्थापनमा कठिनाइ हुनेहुँदा प्रदेशस्तरमा परीक्षा सञ्चालन गर्न थालिएको हो। आगामी वर्ष पनि यसैगरी परीक्षा सञ्चालन हुनेछ। आगामी वर्ष परीक्षा केन्द्र थप गर्दा परीक्षार्थीलाई पक्कै पनि सहज हुनेछ।”

(मधेस प्रदेशका ब्युरो प्रमुख धीरेन्द्रप्रसाद साह, सर्लाही समाचारदाता जनार्जन खत्री र तौलिहवा समाचारदाता नारद कोहारको सहयोगमा)