• २७ वैशाख २०८१, बिहिबार

धनकुटामा मनाइयो गाईजात्रा

blog

धनकुटामा निकालिएको गाईजात्राको र्याली। तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे

 हिले, साउन २७ गते। धनकुटामा शुक्रबार गाईजात्रा मनाइएको छ। विभिन्न टोलबाट जात्रा निकालेर गाईजात्रा मनाइएको हो। 

नेवारी समुदायको बाहुल्य रहेको धनकुटामा निकालिएको गाईजात्रा श्रीवानीमा भेला भएर एकैपटक बजार परिक्रमा गराइएको छ। मृत व्याक्तिको सम्झनामा गाईजात्रा पर्व मनाउने गरिन्छ।  गाईजात्रा मदनचोक, चुवाको बोट, कोशी ग्यास, परिचय मोड, भीमसेन थान, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा आएर समापन भएको थियो। 

यसरी नगर परिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ। गाईजात्रासँगै लाखेनाच र लाठीनाच निकालिएको थियो। गाईजात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ। 

पछिल्लो समय गाईजात्रामा धेरै भिन्नता आएको जानकार बताउँछन्। पहिले र अहिलेको परम्परामा धेरै फरक आइसकेको छ। पहिले गाई नै चाहिन्थ्यो भने अहिले मानिसलाई गाईको प्रतीक मानेर गाईजात्रा मनाउने चलन बढेको छ।