• ५ साउन २०८१, शनिबार

नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह

blog

काठमाडौं, साउन २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नगरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिले आग्रह गरेको छ ।

पार्टीको प्रदेश कार्यालय धनुषामा बिहीबार बसको समितिको बैठकले राष्ट्रपति भण्डारीसँग सो आग्रह गरेको हो । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ राख्नुभएको बैठकको ठहर छ ।

यस्तै, कांग्रेस मधेशले केन्द्रीय सरकारलाई भने नागरिकता विधेयक पारित गरेकोमा धन्यवाद दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकताबाट बञ्चित नेपाली नागरिकहरुलाई नागरिकता प्रदान गर्न संविधानको व्यवस्था बमोजिम दुवै सदनबाट नागरिकता विधेयक पारित गराउन सफल भएकोमा सरकार र  गृहमन्त्री बालकृष्ण खाणलाई धन्यवाद प्रदान गर्ने निर्णय गरेको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, बैठकले आगामी निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेको छ । बैठकले मधेश प्रदेशका सङ्घीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठका अनुसार बैठकले मातहतका निकायहरुलाई निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरी सम्पूर्ण समिति, विभाग, भातृसंघ संस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको छ ।

यस्तै, मधेश प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री श्रेष्ठले बताउनुभयो । बैठकले सङ्घीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।

यस्तै, मधेश सरकारमाथि अनियममितता गरेको भन्दै निर्णय कर्ताहरुमाथि भ्रष्टाचारको मुद्दा दर्ता हुँदा गम्भीर ध्याणकषर्ण भएको कांग्रेस मधेश प्रदेशले जनाएको छ ।

कांग्रेसले आफ्ना पार्टीबाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीलाई उपस्थिति प्रभावकारी बनाउन निर्देशन दिने निर्णय गरेको छ । मधेश प्रदेशमा कांग्रेसबाट रामसरोज यादव भौतिक मन्त्री हुनुहुन्छ भने विरेन्द्र सिंह खेलकुद मन्त्री हुनुहुन्छ ।